
तानसेन। पाल्पा प्रहरीले शिक्षकलाई कुटपिट गर्ने ४ जना युवकलाई प्रकाउ गरेको छ । जिल्लाको माथागढी गाउँपालिका वडा नं.५, स्थित सिर्जना प्राविका प्रधानाध्यापक हरीप्रसाद न्यौपानेलाई कुटपिट गरेको आरोपमा स्थानीय २१ वर्षीय यामबहादुर सारु, १९ वर्षीय सुन्दर घर्ती, २१ वर्षीय योगेन्द्र चौहान र २१ वर्षीय पारस रेग्मीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार प्रधानाध्यापक न्यौपानेलाई युवाले ज्यान मार्ने हेतुले कुटपिट गरेको र गम्भीर घाइते बनाएका थिए । सोही आधारमा घटनामा संलग्न युवा विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यसैबीच पाल्पा प्रहरीले चाडपर्वमा हुन सक्ने आपराधिक घटना न्यूनिकरणका लागि चेकजाँचलाई कडाईका साथ अघि बढाएको छ । सोही क्रममा केही दिन अघि मोटरसाइकल चोरी गर्ने एक तथा भाँडाकुडा चोरी गर्ने दुई युवकलाई समेत पक्राउ गरि कारबाही अघि बढेको प्रहरीले जनाएको छ ।
यस्तै अनुसन्धानका क्रममा एक थान हराएको मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाएको पनि प्रहरीले जनाएको छ ।