पाल्पामा साउनमा २३ र भदौमा १२१ जनामा डेंगु सक्रमण

तानसेन। पाल्पामा पछिल्लो समय डेंगु संक्रमित थपिएका छन् । दैनिकजसो जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउने बिरामीहरुमा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार चाल आर्थिक वर्षमा मात्रै १४४ जनामा डेंगु पुष्टि भएको हो ।

सुरुका दिनमा तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजबाट मात्रै डेंगुको परीक्षण हुँदै आएकोमा लक्षणसहितका बिरामी बढेपछि हाल निजी क्लिनिक र स्वास्थ्य चौकीहरुबाट समेत परीक्षण गर्दा संक्रमित ह्वातै बढेका हुन् ।

पछिल्लो तथ्यांक अनुसार दुई महिनाको अवधिमा जम्मा जम्मा १४४ जनामा डेंगुको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।

जसमध्ये २३ जना साउन महिनामा र १२१ जना भाद्र महिनामा संक्रमित भएका हुन् । गत आर्थिक वर्षमा जम्मा २७ जनामा रहेको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यसैबीच पाल्पामा पहिलो पटक एक जना संक्रमितको उपचारका क्रममा मृत्यु पनि भएको छ । युनाइटेड मिसन अस्पतालमा उपचाररत रिब्दीकोट गाउँपालिका वडा नं. १ का ५८ वर्षीय पुरुषको गत शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया