तानसेन। पाल्पा सदरमुकाम तानसेनमा चाडपर्व लक्षित संयुक्त बजार अनुगमन गरिएको छ । तानसेन नगरपालिकासहित, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र सरोकारवालाहरुको सहभागिता सयुक्त बजार अनुगमन गरिएको हो ।
दुई दिनसम्म चलेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तालाई म्याद गुज्रेका अखाद्य वस्तु, पेय पदार्थ तथा शृंगारका सामग्री बिक्री गरेको पाइएपछि जफत गरी नष्ट गरिएको छ ।
मुख्य बजार क्षेत्रका एक यस १० खाद्यान्न तथा किराना पसलमा अनुगमन गर्दा केही वर्षअघि नै म्याद गुज्रेका तेल, सोयाबिन, जुस, कुरकुरे, कुकिज, विभिन्न पेय पदार्थ, सुजी ,मसलालगायत गरी ३६ हजार २ सय ८५ रुपैयाँ बराबर सामग्री नष्ट गरिएको तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले बताए ।
व्यापारीले चाडवार्डका बेला उपभोक्ताको भीड लाग्ने मौका छोपी अखाद्य वस्तुहरु मिसाएर सामग्री बेच्ने सम्भावना रहने हुदा पनि अनुगमनलाई अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । यसैबीच खाद्यान्न तथा किराना पसलमा अनुगमनमा मापदण्ड पुरा नगरेका व्यापारीलाई सचेत गराई व्यवसाय दर्ता गर्न मूल्यसूची राख्न तथा म्याद गुज्रेका सामग्री छुट्टै राख्न लगाई पुनः गल्ती दोहोराएका कारबाही गर्न चेतावनी दिइएको छ।
यता उपभोक्ता र स्थानीयले भने बजार अनुगमन चाढपर्व लक्षित मात्र नभई हरेक महिनामा हुनु पर्ने बताउदै आएका छन् ।