तानसेन । पाल्पा सदरमुकाम तानसेनको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व सुरु भएसंगै यात्रुलाई सहजताका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

पर्वका बेला हुन सक्ने समस्यालाई मध्यनजर गरी सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ले बताए । यसअघि रामपुरमा सहायता कक्ष स्थापना भएको र अन्य स्थानमा पनि आवश्यकता अनुसार कक्ष स्थापना गरी ट्राफिकले नागरिकलाई सहयोग र सहजिकरण गर्ने पनि प्रमुख मल्लले बताए ।

खासगरी सवारीमा बढी भाडा लिने, सामग्री हराउने, गन्तवयमा पुग्ने सवारीको ज्ञान नहुने जस्ता समस्यामा परेका यात्रुले सहायता कक्षबाट सेवा लिन पाउनेछन् । यात्रुहरुले सहायता कक्षबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्नेछन् ।

 

सहायता कक्षको शुभारम्भ गर्दे प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तले ट्राफिक र प्रहरीले मात्रै सहयोग गरेर यात्रुलाई सहज नहुने हुँदा सवारी धनी चालक र यातायात कम्पनीले पनि पर्वका बेला सहजिकरण गर्न आग्रह गरे । प्रजिअ पन्तले पर्वका बेला हुनसक्ने दुर्घटनाका बारेमा सचेत हुन र सबैले ट्राफिक नियमको पालना गरेमा मात्रै सहज तरिकाले पर्व मनाउने सकिने विषयमा गम्भीर भएर यात्रा गर्न र सवारी चलाउन पर्नेमा जोड दिए ।

यस्तै तानसेन नगरपालिकाकी कार्यबहाक प्रमुख प्रतिक्षा सिंजालीले पर्वका बेला यात्रु ठगिने र विभिन्न सास्ती खेप्नु पर्ने अवस्थालाई मध्यनजर गरेर स्थापना गरिएको सहायता कक्षबाट सहयोग लिएर यात्रा गर्न यात्रुलाई आग्रह गरिन । पर्वका बेला तोकिएको भन्दा बढी भाडा लिने प्रचलन रहेको हुँदा सो विषमा चनाखो हुन यात्रुलाई आग्रह गदै प्रमुख सिंजालीले यात्रा सुरक्षित बनाउनका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले चाडपर्वका बेला देखिने समस्या सवारी धनी र चालकहरुबाट मात्रै नभई यात्रुहरुबाट पनि हुने गरेको हुँदा सबैले आफ्नाे जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।

सोही बखत जिल्लास्थित सरोकावालाहरुले पनि पर्वका बेला देखिने समस्या समाधानका लागि सहजिकरण र गल्ती गनेृलाई खबरदादी गर्न आफुहरुले भूमिका खेल्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया