तानसेन। पाल्पाका कोत र दसैंघर तथा देवी मन्दिरहरुमा फूलपाती भित्र्याइएको छ । तानसेनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको २ सय वर्षभन्दा पुरानो दसैंघर संगै देवी मन्दिर तथा दशैंघरहरुमा फूलपाती भित्र्याइएको हो ।
तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुई सय ३ वर्षअघि तानसेन दरबार परिसरमा स्थापना गरेको दसैंघरमा परम्परागत तरिकाले फूलपाती भित्र्याइएको छ । नेपाली सेनाको टोलीले बाजागाजासहित रातो डोलीमा फूलपाती लिएर दरबारबाट असनटोल, नारायणटोल हुँदै टुँडिखेल फूलपाती लिन गएका थिए । दसैंघरमा सलामी दिने र बाजा बजाउँदै नेपाली सेनाको ब्यारेकमा फूलपाती लिन जाने परम्परा अनुसार नै फूलपलाती भित्र्याइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
विभिन्न १० किसिमको फूलपाती पूजाआजासहित बली दिएपछि पुनः बजार परिक्रमा गरी दसैंघरमा भित्र्याइएको हो । निशान भगवती र दसैंघरमा फूलपाती भित्र्याउँदा सेना, सहस्त्र प्रहरी, जनपद प्रहरीको टोलीबाट सलामी दिइएको थियो । दसैंघरमा भगवती, गणेश, अमरनारायणलगायत सलामीसहित फूलपाती बढाइँका साथ भित्र्याउने चलन रहेको पुजारी हरिकृष्ण शर्मा गौतमले बताए ।
घटस्थापनादेखि जमरा राखेर पूजाआजा गर्ने परम्परा छ । कोतघर र दशैंघर तथा देवीका मन्दिरहरुमा पनि विधि अनुसार पूजाआजा गरी फूलपाती भित्र्याइएको छ। जिल्लाका मुझुङ्, छहरा, भुवनपोखरी, बौघागुम्हा, मस्याम, बीरकोट, जब्गादी, सिलुवा, रामपुर, दर्दलडाडाँ, खानीछापलगायतका स्थानमा रहेका कोटघरका साथै व्यक्तिका घरमा समेत विधिपूर्वक फूलपाती भित्र्याइएको छ।