
तानसेन। पाल्पामा दलित विवाह गरेको भन्दै तीन घर परिवारलाई कुल पूजामा रोक लगाएका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ भुवनपोखरीका कुमाल जातिका युवकले दलित युवतीसंग विवाह गरेको भन्दै कुल पूजाबाट बञ्चित बनाएका हुन् ।
गत माघमा नेपाली थरकी युवतीसंग विवाह गरेपछि सामाजले समेत स्वीकार गरेको भए पनि अहिले कुमालसंगै उनका जेठो बुबा र कान्छो बुबाको परिवारलाई कुल पूजामा सहभागि हुन नदिएको नाम नखुलाउने सर्तमा जानकारी दिए ।
हरेक वर्ष अष्टमीका दिन कुलपूजा गर्ने परम्मपरा रहेकोमा अन्य दाजुभाईले पूजामा सहभागि हुन नदिएको उनले बताए । उनले भने- “पर्वका बेला हामीलाई सहभागि हुन दिएनन्। जस्ले गर्दा तीन घर परिवारलाई कुल पूजा सहभागि हुनबाट बञ्चित भयौं। गत माघमा सिद्धबाबा मन्दिरमा गएर मागी विवाह गरेका कुमालले विवाहपछि दाजुभाई र समुदायमा सहमतिमा भएको हो । त्यो बेला कुलबाट छुट्याउन मिल्दैन ठिकै छ समावेशी गर्नुपर्छ भने सहमति पनि भो तर अहिले तल्लो जाती विवाह गरेपछि तलाई र तेरो परिवारलाई राख्न मिल्दैन भनेर फर्काए ।”
संविधानमा उल्लेख भए अनुसार जातिय छुवाछुत र विभेद् गर्न नमिल्ने भए पनि कुलपूजा गर्नबाटै बञ्चित गराएको भन्दै आफूहरुले कानुनी उपाए खोज्ने पनि उनले बताए ।
दसैं मनाएपछि घर परिवारको सल्लाह अनुसार नै कानुनी प्रक्रियामा जाने उनीहरूले जनाएका छन् । उता स्थानीय सरकारले भने दुई तर्फी कुरा सुनेर जातिय छुवाछुत गरेको पाइएमा कानुनी उपाए अपनाउने वडा अध्यक्ष प्रदीप पौडेलले जानकारी दिए ।