एमालेका उम्मेदवार घरदैलोमा

तानसेन। आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पाल्पाका उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारहरुले मतदाता सामु आफ्नो पार्टीको घोषणा पत्रसहित दुई निर्वाचन क्षेत्रका फरक फरक तरिकाबाट मतदाता भेटघाटमा जुटेका हुन् । उम्मेदवारहरुले स्थानीयको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफूहरुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

पाल्पा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्य बिहीबार रामपुर नगरपालिकाका विभिन्न वडाका मतदाताहरुलाई भेटेका छन् । आचार्यले मतदाताहरु सामु आफ्नो प्रतिबद्धता व्यक्त गर्दै पूर्वी पाल्पा आफैमा धेरै क्षेत्रमा सम्भावना बोकेको क्षेत्र भएकोले यहाँको कृषि, पशुपालन तथा यवा उद्यमशीलताका लागि आफूले थप पहल गर्ने बताए ।

यस्तै पाल्पा क्षेत्र २ प्रतिनिधिसभाका उम्मेदवार ठाकुर गैरेले रैनादेवी छहराका विभिन्न वडाका मतदाता भेटघाटका क्रममा आफू यसअघि कुनै संसदीय निर्वाचनमा सहभागी नभएको हुँदा देखिनेगरी काम गर्ने बताएका छन् । पहिलो पटक उम्मेदवार बनेकोले पनि आम मतदाताहरुले विश्वास गरि निर्वाचित गराउनेमा आफू विशस्त गैरेले बताए ।

यता पाल्पा क्षेत्र नं.१ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठले रामपुर क्षेत्रमा रहेको खानेपानी स्वास्थ शिक्षा मोटरबाटो पुल निर्माण तथा विद्यतुीकरणलगायतका विषयमा मतदाताहरुकै सुझाव बमोजिम काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै क्षेत्र नं. १ (२) का उम्मेदवार खेमबहादुर सारुले माथागढी ५ हात्तीलुङका स्थानीयसंग अहिले पनि सूचना तथा सञ्चार सेवा पूर्ण नभएको उक्त क्षेत्रका नागरिकको समस्या समाधान गर्ने बताएका छन्।

यस्तै पाल्पा क्षेत्र नं. २(१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिका वडा नं. १३ छर्लुङका मतदाताहरुसँगको भेटघाटमा कृषि तथा पशुपालनलमार्फत पकेट क्षेत्र बनाई स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

पाल्पा क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्तीले रैनादेवी छहराका विभिन्न वडाहरुमा घरदैलो गर्दा पश्चिम पाल्पालाई अम्लिसो, दालचिनीको पकेट क्षेत्र बनाउने र किसानहरुलाई उद्यमशील बनाउने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया