तानसेन। पाल्पाकाे बगनासकाली गाउँपालिकाले वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको छ । वडा स्तरमा संचालित शिविरबाट १ हजार २ सय १४ जना लाभान्वित भएका छन् । यसअघि नेपाल बैंक पाल्पा शाखा र विभिन्न काउटरबाट भत्ता पाइरहेका उनीहरूले वडाबाटै सेवा पाएका हुन् ।

नेपाल बैंक पाल्पा शाखाको समन्वय र बगनासकाली गाउँपालिकाको सहकार्यमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । तिहार नजिकिएसँगै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, नेपाल बैंक पाल्पा शाखा प्रबन्धक गिरिराज बेल्वासे लगायत जनप्रतिनिधी र कर्मचारीको उपस्थितिमा वडा कार्यालयमै पुगरे सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

आ.व.२०७९।०८० को प्रथम त्रैमासिक (श्रावण, भाद्र र असोज)मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ३०८७ लाभग्राही मध्ये दस्तखत गर्ने, जिल्ला बाहिर हुने र बैंकमै सहज हुनेहरूको लागि बैंकमै सामाजिक सुरक्षा भत्ता जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका एम.आई.एस. अपरेटर भोजराज भट्टराईका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म सम्पन्न भएको हो । जस अनुसार असोज २८ गते वडा नं. ७ खानीगाउँ, २९ गते वडा नंं. ८ बराङ्दी र वडा नम्बर ९ चापपानी, असोज ३० गते वडा नं.४ खानीछाप, असोज ३१ गते वडा नं. ५ दर्लमडाडाँ, कार्तिक १ गते वडा नं. ६ गुँगा, कार्तिक २ गते वडा नं. ६ कै सीता मा.वि. ठूलापोखरा, कार्तिक ३ गते वडा नं. ३ नायरनम्तलेस र कार्तिक ४ गते वडा नं. २ पोखराथोकमा टोली पुगेको थियो ।

गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाले नागरिकको लागि सहज र सर्वसुलभ सेवा दिने प्रतिवद्धता जनाए अनुसार वडामै सेवा दिइएको र यसलाई निरन्तरता दिने बताइन ।  गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले नागरिकको सहजताको लागि वडास्तरमै सेवा सूचारु गरिएको बताए ।

प्रमुख प्रशासकीय अधित विष्णु घर्तीले नागरिकको वडास्तरबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा लाभग्राहीले छिटो र छरितोगरी सेवा लिन पाएको जानकारी दिए ।

गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले सामाजिक सुरक्षा भत्ता वितरणको साथमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर लगायतबाट नागरिकले एकीकृत सेवा घरदैलोमै पाएको बताए । नागरिकको सहजताको लागि आगामी दिनमा वडातहमै एकीकृत सेवा सञ्चालन गरिने गाउँपालिकाले जनाएकाे छ ।  सामाजिक सुरक्षा भत्तासँगै सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट ८१० जना नागरिकले लाभ लिएकाे पालिकाले जनाएकाे छ।

तपाईको प्रतिक्रिया