पाल्पा। पाल्पाको सत्यवतीमा चिच्याएर ‘वर’ माग्ने मेला लाग्ने भएको छ । विगतका वर्षमा कोरोना सक्रमण जोखिमका कारण लाग्न नसकेको मेला यो वर्ष लाग्ने भएको हो ।

हरेक वर्ष कार्तिक महिनामा पूर्णीमा परेमा विषेश (जोग पर्ने) हदाँ मेलालाग्ने गर्दछ । यो वर्ष कात्तिक १७ देखि २२ गतेसम्म सत्यवती ताल क्षेत्रमा मेला लाग्ने र मेलाको तयारी पुरा भएको सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

‘चिच्याएर वर माग्ने मेला’ मेला भएका कारण मेला भर्नका लागि देशका विभिन्न जिल्लासंगै भारबाट समेत भक्तजन सत्यवती तालमा पुग्ने गर्दछन् । तिनाउ गाउँपालिकाको वडा नंं ४ स्थित सत्यवती ताल क्षेत्रमा लाग्ने मेलामा परापूर्व कालमा सत्यवती बज्यैले तपस्या गरेको स्थानका रुपमा ‘चिच्याएर वर मागे’ पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले सत्यवती बज्यै कानले नसुन्ने भएकाले आफूले मनमा चिताएको ‘वर चिच्याएर मागे’ पूरा हुने विश्वास रहँदै आएको बताए।

मेलामा डेढदेखि दुई लाख भक्तजन आउने अनुमान गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनए। यो वर्ष मेलाका बेला आउने भक्तजनलाई सुविधा पुग्ने गरी यातायातको व्यवस्था र सुरक्षाको प्रबन्धन राम्रो गरिने तिनाउ गाउँपालिकाले जनाएको छ ।

सत्यवती मेला पाल्पा जिल्ला र लुम्बिनी प्रदेशकै अनौठो र गौरवमय मेला भएकाले यसको प्रचारप्रसार तथा धार्मिक पर्यटन प्रवर्द्धनमा सबैको सहयोग हुने विश्वास गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया