
तानसेन। पाल्पाको रामपुर नगरपालिकाले बिहीबार बेझाँड बजार क्षेत्रको अनुगमन गरेको छ। सडक पेटी तथा सटरको पेटीमा राखिएका सामग्री र अव्यवस्थित पार्किङ्गले दुर्घटनाको जोखिम बढाएको भन्दै बजार क्षेत्रको अनुगमन गरेको हो ।
नगरपालिकाले गरेको अनुगमनका क्रममा मापदण्ड विपरित व्यापारीक प्रयोजनका लागि राखिएका पसलहरुबाट सामग्रीहरु जफत समेत गरिएको छ । रामपुर नगरपलिकाले यसअघि सडक सीमाभित्र सामग्री राखेर व्यापार नर्गनका लागि सूचना जारी गर्दा समेत व्यापारीले अटेरी गरेपछि अनुगमन गरिएको हो । नगरप्रमुख रमणबहादुर थापाले अनुगमन गरी यस्ता सामग्री जफत गर्नुका साथै पार्किङ्ग निशेषित क्षेत्रमा राखिएका मोटरसाइकलको हेलमेट समेत नियन्त्रणमा लिएको थियो ।
नगरपालिकाले ईलाका प्रहरी कार्यालय रामपुर र नगर प्रहरीको सहयोगमा अनुगमनका क्रममा मापदण्ड विपरित राखिएका सामग्रीहरु नियन्त्रणमा लिएको र सडक तथा सटर भन्दा बाहिर पेटीमा राखिएका खाद्यान्न, फलफूल, तरकारी, लत्ताकपडा, खेलौना तथा कास्मेटिक सामान, फार्निसिङ्गका सामाग्री जफत गरेको हो नगर प्रमुख थापाले जानकारी दिए ।
नगर प्रमुख थापाले बजार क्षेत्रको साँघुरो सडकमा सडक पेटीसम्म सामान राखेर विक्री वितरण गर्दा दुर्घटनाको जोखिम भएकाले न्यूनिकरणका लागि अनुगमन गरिएको र कार्यपालिकाको बैठकको निर्णय अनुसार बजारलाई व्यवस्थित बनाउन व्यवसायीहरुलाई अनुरोध पनि गरे।
यस्तै उपप्रमुख बालकुमारी थापाले बजार व्यवस्थापन र सुन्दरतालाई कायम राख्न मापदण्ड अनुरुप सामान राखेर व्यवसाय गर्न आग्रह गरिन । यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले व्यवसायीहरुले नगरको आग्रहलाई वेवास्ता गरे नियम अनुसार कारबाही गरिने बताएका छन् ।
स्थानीय सरोकारवाला निकायसंगको संयुक्त अनुगमनले आगामी दिनमा पनि यस्ता गल्ति दोहोराएमा कानुनी कारबाही गरिने रामपुर नगरपालिकाले जनाएको छ।