
तानसेन। अल्पसंख्यक सामुदाय र जातिको उत्थानका लागि नेकपा एमालेले स्वरोजगारका कार्यक्रम ल्याउने उम्मदवारहरूले प्रतिबद्धता जनाएका छन् । कुमाल, बोटेसहित अन्य अल्पसंख्यक समुदायको आर्थिक समृद्धि अबको आवश्यकता रहेकोले तीन तहका सरकारसँग समन्वय गरी कार्यक्रमहरू संचालन गर्ने उम्मेदवारहरुले घरदैलो कार्यक्रममा जनाएका हुन् ।
नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले अल्पसंख्यक समुदायको आर्थिक र सामाजिक उत्थानका लागि आफूले काम गर्ने बनाएका छन् । निर्वाचन प्रचारप्रसारको क्रममा बगनासकाली गाउँपालिकाको पोखराथोक र चिर्तुंगधाराका टोलबस्तीहरुमा पुगेर प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरे र प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईसहित नेकपा एमालेका नेताहरुले मतदाताहरुसँग एमाले समुदाय रोजगारी प्राथमकिता राखेको बताएका छन् ।
पाल्पाका गौरवाका आयोजनाहरु कालीगण्डकी करिडोर, रामपुर–कपुरकोट, कृष्णसेन इच्छुक राजमार्ग, अरुणखोला–मित्याल–रामपुर सडकको स्तरउन्नतिका लागि नेकपा एमाले प्राथमिकता दिइ अगाडि बढाउने उम्मेदवारहरुले जनाएका छन् ।
नेकपा एमाले पाल्पा क्षेत्र नंं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण प्रसाद आचार्यले जिल्लाका गौरवका आयोजनासहित रामपुर नगरपालिका र तानसेन नगरपालिकाको खानेपानी योजना एमाले प्राथमिकता परेको योजना भएको बताए ।रम्भा गाउँपालिका वडा नंं १ हुँगीमा घरदैलो कार्यक्रममा एमाले विकास र समृद्धिमा पक्षमा निरन्तर लाग्ने पार्टी रहेको बताए।
नेकपा एमालेका पाल्पा क्षेत्र नं. १ (१) मा प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठले पूर्वी पाल्पाका जनताको आर्थिक स्तर वृद्धि गर्ने योजना लिएर जनतामाझ आएको बताएका छन् ।
नेकपा एमाले पाल्पा क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्य उम्मेदवार खेमबहादुर सारुले जिल्लाको समग्र विकास निर्माणमा एमालेको प्रमुख भूमिका रहेको बताएका छन्।
नेकपा एमालेका पाल्पा क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराइले आफू यसअघि पद र जिम्मेवारीमा नहुँदा पनि विभिन्न मन्त्रालय र सहयोगी संस्थाहरुसँग मिलेर पाल्पाको विकास योजनाहरुमा महत्वपूर्ण काम गर्दै आएको बताए।
नेकपा एमाले पाल्पा क्षेत्र नंं २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार ओमबहादुर घर्तीमगरले जुठापौवा र छहराका पर्यटकीय स्थलका पुर्वाधार निर्माण पहल गर्ने बताए। जिल्लाको पूर्वाधार विकास गर्न एमालेका ६ वटै उम्मेदवारहरू प्रतिबद्ध रहेकोले सूर्यमा मतदान गरी एमालेलाई विजयी बनाउन जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए।