
तानसेन। नेकपा एमाले पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले काम नगरी झुटा प्रचार प्रसार गर्ने व्यक्तिबाट सचेत बन्न आग्रह गरेका छन् । मंगलवार बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडा र वडा नं. ६ यम्घाका विभिन्न टोलहरुमा घरदैलो गर्दै गैरेले जनतालाई झुक्काउने उम्मेदवारबाट सचेत हुन मतदातालाई अनुरोध गरेका हुन् ।
पाल्पाली जनताको चाहना र आवश्यकता अनुसार काम नगरेका प्रतिनिधिलाई छाडेर एमालेका उम्मेदवारलाई सूर्यमा मतदान गर्न पनि गैरेले आग्रह गरेका छन् । उम्मेदवार गैरेले आफुले ३२ वर्षसम्म पार्टीको राजनीति मात्र गरेको र पहिलो पटक संसदीय निर्वाचनमा जनताको माग अनुसार उम्मेदवार भएकोले सेवा गर्ने मौका दिन मतदातालाई अनुरोध गरेका छन् ।
उम्मेदवार गैरेले बगनासकाली गाउँपालिकाभित्रका सबै वडा र टोलहरुका समस्याहरुलाई टिपोट गरेको र आगामी ५ वर्ष भित्र क्रमशः जनताका आवश्यकताहरुलाई पूरा गर्दै जाने जनाएका छन् ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको र ग्रामीण क्षेत्रलाई उत्पादनमूलक बनाउँदै बढ्दो बसाइसराई न्युनीकरणको लागि आफूले ठोस पहल गर्ने बताएका छन् । यस्तै नेकपा एमाले पाल्पा क्षेत्र नं २ ( १ )का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराईले आफू निर्वाचित भएपछि जनताको मर्म र भावना अनुसार काम गर्ने बताएका छन् ।
बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडा र वडा नं. ६ यम्घाका मतदातासँगको भेटघाट तथा घरदैलोको क्रममा उम्मेदवार भट्टराईले आफ्नो जीवनको उर्जाशिल समय नै सामाजिक राजनीतिक क्षेत्रमा बिताएको उल्लेख गर्दै आफु सेवक बनेर काम गर्ने बताए । निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रसहित समग्र पाल्पाको गरिमालाई अझै उचों बनाउने गरी काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
यस्तैगरी नेकपा एमाले पाल्पा क्षेत्र नंं. २ प्रदेश (२)का नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्तीमगरले रैनादेवी छहरा गाँउपालिकाको जुठापौवा र बल्ढेंङगढी क्षेत्रको विकासमा आफ्नो पहल रहने बताएका छन् ।
उनले जुठापौवा र बल्ढेंङगढी क्षेत्रको सडक पूर्वाधार कमजोर हुदाँ जनताले धेरै सास्ती खेप्नुपरेको बताउदै आफु यो विषयमा चिन्तित भएको बताए। उम्मेदवार घर्तीले आफु निर्वाचन भएपछि पहिलो प्राथमिकता सडकको स्तरउन्नति रहने बताएका छन् ।