तानसेन। भोलि अर्थात मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पाको एम मतदान केन्द्रमा सबै कर्मचारी र सुरक्षाकर्मी महिला रहने भएका छन् ।
जिल्ला सदरमुकाम तानसेस्थित तानसेन वडा नं.२ को रेडक्रस भवनमा रहेको केन्द्रमा सबै महिला कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन् ।
मतदानमा खटिएका कर्मचारीले आजै सर्वदलीय तथा सर्वपक्षीय वैठक राखेर निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन् । उक्त केन्द्रकी मतदान अधिकृत मीना ढकालले सबै महिला कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराउन आफुहरु एकजुट भएर कार्य गरेको बताइन् ।
१२ जना महिला कर्मचारी र १६ जना महिला सुरक्षाकर्मीसहित २८ जनाले मतदान केन्द्र सम्हाल्ने भएका छन् । पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता छन् ।
२ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचनकालागी पाल्पामा सम्पन्न गर्न १ हजार ९ सय ७२ कर्मचारी र ७ सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी प्रहरी खटिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिइन् ।