सिद्धबाबा सुरुङ मार्ग निर्माण सुरु

तानसेन। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण कार्य सुरु भएको छ । सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिकामा पर्ने सिद्दबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले ‘डिजाइन’ गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य कामहरु, माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु भएको सुरुङ मार्ग निर्माणपछि यस क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

आठ महिनाअघि ठेक्का सम्झौतापश्चात् स्थलगत अध्ययन गरेपछि डिजाइनको काम सकेर स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको छ । डिजाइन स्वीकृतिपछि सुरुङ मार्ग निर्माणको काम प्रारम्भ हुने निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जनाएको छ ।

हाल ११ केभी विद्युत् क्षमता भएको विद्युत् विस्तारको काम भइरहेको छ । यस्तै माटो परीक्षण सकेर रिपोर्ट प्राप्त भइसकेको सडक डिभिजन बुटवलका प्रमुख हाेम एसीले जानकारी दिए ।

सुरुङ मार्गको डिजाइन अन्तिम चरणमा पुगेको र अब छिटै काम सुरु गरि डिजाइनको काम सम्पन्न भएपछि सुरुङ छेड्ने काम हुनेछ ।

निर्माण पक्षले सरकारसँग भएको सम्झौताअनुसार नै कामको प्रगति भइरहेको जनाएको छ । सुरुङ मार्ग बनाउन चाइनिज कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको छ । यो आयोजनाका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटरको सुरुङ मार्ग बनाउने सम्झौता उल्लेख छ । सुरुङ मार्गको काम सुरु गरेको पाँच वर्षभित्र सक्नुपर्ने छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer