तानसेन। नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले परिवार नियोजनको नयाँ अस्थायी साधनका रुपमा आएको “सायना प्रेस”का बारेमा पाल्पामा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।
युएनएफपीए र स्वास्थ्य कार्यालयको पाल्पाको सहयोगमा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले नयाँ अस्थाथी साधानको बारेमा जानकारी दिएको हो । हालसम्म नेपालका ७ जिल्लामा प्रयोगमा ल्याइएको अस्थायी साधन सायना प्रेस अर्को वर्षदेखि पाल्पामा पनि प्रयोगमा ल्याउने तयारी अनुरुप यसबारे जानकारी दिइएको हो ।
सो बखत अन्य साधनको तुलनामा यसको प्रभावकारिता, प्रयोग र प्रयोगपछिको अवस्थाका विषयमा अभिमुखीकरण तथा छलफल गरिएको थियो ।
अन्य अस्थानयी साधनको तुलनामा धेरै प्रभावकारी मानिएको यो साधन महिलाले प्रयोग गर्ने तीन महिने सुई रहेको र यसको सही तरिकाले प्रयोग गरेमा ९९ प्रतिशत प्रभावकारिता रहेको नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक सोबाकान्त न्यौपाने जानकारी दिए।
यो साधन महिला स्वयमले प्रयोग गर्न सकिने हुँदा पनि प्रयोगमा सहजता रहेको सो बखत जानकारी दिइएको थियो । यस्तै यो सधान एक पटक लगाएपछि तीन महिना गर्भ रहन रोक्ने, यो सुई महिनावारी भएको ७ दिनभित्र अथवा महिलाले गर्भवती नभएको जुनसुकै समयमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट लगाउन सकिने बताइएको छ ।
आगामी आर्थिक वर्षदेखि पाल्पामा यो सेवा विस्तार गरिने स्वास्थ्य कार्यालय पाल्पाका प्रजनन् स्वास्थ्य कार्यक्रमका फोकल पर्सन टिकाराम अधिकारीले बताए।