तानसेन। मुक्तिनाथ धामका प्रमुख संरक्षक स्वामी लोकानन्दको जन्मोत्सवको अवसरमा पाल्पाली पत्रकार भुवन रायमाझी सम्मानित भएका छन् । स्वामी नारायण मुक्तिनाथधाम बुटवल १२ का प्रमुख संरक्षक लोकानन्दको जन्मोत्सवको अवसरमा स्वामी नारायण मुक्तिनाथधाम पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मुक्तिनाथ पाल्पाका स्टेशन प्रबन्धक रायमाझीलाई नगतसहित सम्मानित भएका हुन्।
प्रत्येक वर्ष जन्मोत्सवमा प्रदान गरिदै आएको उक्त पुरस्कार लुम्बिनी प्रदेश सभाका सदस्य लीला गिरीले रायमाझीलाई प्रदान गरेका हुन् । सम्मानित भएसंगै पत्रकार रायमाझीले आफूलाई थप जिम्मेवारी थपिएको बताएका छन् । उनले ‘पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको कदर भएकोमा खुसी व्यक्त गर्दै समाज रुपान्तरणका लागि थप कलम चलाउने बताए ।’
बुटवलस्थित नयाँगाउँमा भएको सम्मान कार्यक्रममा प्रदेश संसाद भोजप्रसाद श्रेष्ठ,लिला गिरी, बुटवल उप- महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,उप-प्रमुख साबित्रादेवी आचार्य, धामका अध्यक्ष धर्मराज शर्मा, वडाध्यक्ष डिल्लीराम शर्मा आचार्य, तुल्सी भण्डारीलगायतले बोल्दै स्वामी लोकानन्दको दीर्घ जीवनको कामना गरेका थिए । सो अवसरमा दर्शनार्थी तथा सेवकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
पत्रकार रायमाझी नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कार्यसमिति सदस्य हुन भने एबिसी टेलिभिजनको पाल्पा संवाददाता तथा सिआइएनमा पनि काम गर्दै आएका छन् ।