रिडीमा माघे संक्रान्ति मेलाको तयारी पुरा

तानसेन। नेपालको चार धाममध्येको एक रुरु क्षेत्र धाम रिडीमा माघे संक्रान्ति मेलाको तयारी पुरा भएको छ। पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा माघे संक्रान्तिका अवसरमा लाग्ने मेलाका व्यापरीक स्टलको व्यवस्थापन, नदि र खेलामा खट राख्ने, काली गण्डकीमा स्नान तथा ऋषिकेशको दर्शनका लागिसमेत व्यवस्थापन सम्पन्न भएको हुँदा मेलाको तयारी पुरा भएको हो ।

स्थानीय पत्रकार चुरामणी तिमिल्सिनाले दिएको जानकारी अनुसार विश्वकै पवित्र धार्मिक, पौराणिक एतिहासिक तथा पर्यटकीय तीर्थस्थल मानिने हुँदा रुरु क्षेत्रमा माघी मेलाभर्नाका लागि शनिबारदेखि नै भक्तजन र व्यापरीहरु नदी किनारमा पुगेका छन् । तीन जिल्लालाई केन्द्रबिन्दु बनाइ लाग्ने मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिदै आइएको छ ।

यो वर्ष मेलाका अवसरमा पाल्पा जिल्लातर्फ धार्मिक कार्यक्रम भजन (कृतन पुजा पाठ भणडारा दान पुन्य जस्ता कार्यक्रम बढी मात्रमा गरिन्छ । यस्तै गुल्मी तर्फ रुरु फेन्डस कलब र फेण्ड्स क्लबले स्थानीयको साथ र सहयोग र वडा र पालिकासंग समन्वय गरी बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी समेत पूरा गरेको पत्रकार तिमिल्सिनाले जानकारी दिए ।

यस्तै स्याङ्जातर्फ यस वर्ष युवाको साथ सहयोगमा भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । मेलामा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत,रुकुम, रोल्पा, काठमाडौ, दाङ, परासी, झापा र इटहरीबाट समेत भक्तजन भगवानको दर्शनको निम्ति आउने गर्दछन ।

पौराणिक महत्त्व रहेको यो क्षेत्र तीन जिल्लाको संगमस्थल भएकोले कालीगण्डकी नदीमा स्नान गरी भगवान ऋषीकेशको दर्शन गरेमा मनोकाक्षा पुरा हुने र देव ऋण पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने कथन बराहा पुराणमा उल्लेख छ। कोरोना महामारी पछि पहिलो पटक हुन लागेको यो महोत्सवमा व्यापारी र दर्शनार्थी उत्साहित देखिएका छन् ।

 

यस पटक मेलामा तीनमुखे झोलुंगे पुल, देवदत्त पार्क, गलफुल गुफा, हनुमान थान, रुरु क्षेत्रका मठमन्दिर एक हजार आठ शालिकरामलगायतका स्थान आकर्षक केन्द्रका रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया