माघे सङ्क्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ ।
विविध जाति र समुदायको बाहुल्य रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा पनि लिइन्छ ।
आजभोलि माघे सङ्क्रान्ति देशविदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएको छ । तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ ।
जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाद्य सामग्रीको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।





