सरकारकाे निर्णयः उच्चस्तरीय जाँचबुझ आयोग गठन, सोमबार सार्वजनिक विदा

काठमाडौं।  पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए ।

त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।

विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ। बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।  आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।
बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ।
साथै सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत बैठकले जनाएको छ।

तपाईको प्रतिक्रिया