पाल्पा। आज अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ पनि मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित सातौँ दिवश मनाउन लागिएको हो ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।

यसैबीच नेपाली पोशाक तथा टोपी दिवसका अवसरमा  पाल्पाली ढाका टोपी र अन्य ढाकाबाट बनेका सामग्रीकाे पनि बिक्री हुँदै अाएकाे छ ।

पाल्पाली ढाका टोपी नेपालकै पुरानो टोपी भएको र घरेलु तानबाट हातले बुनेर उत्पादन गर्ने हुँदा यसको थप महत्व रहेको विज्ञहरु बताउछन्।

पाल्पाली ढाका टोपी शिरमा लगाउनाले राष्ट्रियता झल्किने हुँदा यसको महत्व थपिएको पाईन्छ ।  पाल्पाली ढाको उत्पादन वि.स.२०१५ सालबाट सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया