तानसेन। छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना यात्रुको ज्यान गएको पुष्टि भएको हो ।

बिहीबार राति १० बजेतिर रुपन्देहीको सालझण्डीदेखि पाल्पाको सत्यवतीतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस रैनदेवी छहरा–८, खुर्सानेमा दुर्घटना भएको थियो । दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गयो भने १८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि सिङ्गो खुर्साने गाउँ शोकमा डुबेको छ ।

दुर्घटनामा परेको बसको चालकले मदिरा (रक्सी) सेवन गरेर बस गुडाएको घाइते यात्रुको भनाइ छ । चालक तथा सवारी धनीले मादक पदार्थ सेवन गरेर झगडा गरेका थिए । उक्त सडक खण्डको टारीमा डेढ घण्टा बस रोकेर मादक पदार्थ सेवन गरेको स्थानीय बासिन्दाको भनाइ छ । ‘पहिले नै सवारी धनीले मादक पदार्थ सेवन गरेर आएका थिए, टारीमा पनि ड्राइभर बसबाट झरेर मादक पदार्थ सेवन गरेको एक जना प्रत्यक्षदर्शीले भने ।’

दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि पनि चालकले ढिकमा बस चढाएपछि यात्रुले बस रोक्न अनुरोध गरेका थिए । तर चालकले जबरजस्ती गरेर बस गुडाएको केही समयमै बस दुर्घटनामा परेको घाइते लीला गाहाले बताए । दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि बस ढिकमा चढेपछि महिला यात्रुहरूले चालकलाई हामी हिँडेर जान्छौँ, बस रोक्नुस् भनेका गाहाले बताए।

दुर्घटनाको विषयमा चालकले भने स्टेरिङमा आएको गडबडीका कारण दुर्घटना भएको प्रहरीलाई बताउने गरेका छन् । मदिरा सेवन गरेर बस हाँक्ने चालक घाइते अवस्थामा उपचाररत छन् । बस दुर्घटनाको कारणबारे रैनदेवी छहरा–८ का वडा अध्यक्ष रेमबहादुर रानाले चालकले मादक पदार्थ सेवन गरेको बताए। चालकले मदिरा सेवन गरेर बस चलाएको यात्रुले गुनासो गरेको वडाध्यक्ष रानाले बताए। दुर्घटना हुने कल्पना नगरेको स्थानमा  बस दुर्घटनामा परेको उनले बताए।

मदिरा सेवन गरेर जबरजस्ती सवारीसाधन गुडाउनमा सवारी धनीको समेत हात रहेको घाइते यात्रुको आरोप छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि चालकको स्वास्थ्य परीक्षणबाट मदिरा सेवन गरेको पुष्टि भएको जनाएको छ । ‘बसका चालकले  मदिरा सेवन गरेर सवारीसाधन चलाएको रिपोर्ट प्राप्त भएको छ प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भने।’

-गाेरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया