काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न गठित समितिमा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङ सदस्य थिए ।
कार्यदलका संयोजक पौडेललका अनुसार विद्यमान कानुनमा समसामयिक परिमार्जन, आवश्यकता अनुसार नयाँ कानुन निर्माण, शिक्षा, स्वास्थ्यमा, भौतिक पूर्वाधारका क्षेत्रमा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत विषय प्रतिवेदनमा रहेको छ ।