
तानसेन। प्रणय दिवस अर्थात फागुन २ गते रानीमहलमा विशेष कार्यक्रम हुने भएको छ । ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’लाई स्थापित (ब्राण्डिङ्) गर्न तानसेन नगरपालिकाले त्यहाँ पुग्ने जोडीलाई सम्मान गर्ने कार्यक्रम बनाएको हो ।
तानसेन नगरपालिका र पर्यटन क्षेत्रसँग सम्बन्धित संस्था (नाटा) लुम्विनीको आयोजनामा रानीमहलमा विविध कार्यक्रम गर्न तयारी भइरहेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए।
रानीमहलको महत्वलाई स्वदेश र विदेशमा स्थापित गर्न जोडी सम्मान, जोडीबाट सिक्का दान, गुलावका गुच्छा साटासाट, सांस्कृतिक कार्यक्रम, क्याम्प फायरलगायतका कार्यक्रमको आयोजना गरिएको छ। यस्तै रानीमहलको महत्वलाई स्वदेश र विदेशमा प्रचार प्रसार गर्न सहयोग पुग्ने गरी कार्यक्रम गर्न लागिएको नगरपालिकाले जनाएकाे छ ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीका अनुसार देशभरका विभिन्न जिल्लासंगै भारतबाट समेत २५ भन्दा बढी जोडी रानीमहलमा आउने छन्।
दिवसका लागि तानसेन नगरपालिका, नाटा पाल्पा च्याप्टर र नाटा लुम्बिनीले संयुक्त कार्यक्रम गर्ने भएका हुन् ।