मुस्ताङमा विश्वविद्यालय खोल्ने निर्णय भएको छैन, ओलीले भ्रमपूर्ण प्रचार गरे : मन्त्री शर्मा

काठमाडौं । सरकारले मुस्ताङमा विश्वविद्यालय स्थापना गर्नका लागि भारतलाई अनुमति दिएको भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भ्रमपूर्ण रहेको बताएको छ । सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एक वित्रप्ति जारी गर्दै अध्यक्ष ओलीको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । विज्ञप्तिमार्फत पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ सरकारका प्रवक्ताको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासलाई पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो त्यसको अध्ययन र आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने पनि सरकारले स्पष्ट पारेको छ ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको आरोप लगाएका थिए ।

ओलीको भनाइको खण्डन गर्दै मन्त्री शर्माले निकालेको विज्ञप्तिमा परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन भनिएको छ।

हेर्नुहोस विज्ञप्ति:

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer