तानसेन। पश्चिम नेपालका पहाडी जिल्लाहरुमा गाउँघर र टोलटोलमा ट्याम्को, ढोलक, खैजडी, मजुरा बजाएर फागु खेल्ने पूरानो संस्कृति बिस्तारै हराउदै गएको छ । डेढ दशक अघिसम्म पाल्पाका विभिन्न स्थानमा देखिने मौलिक फागु नाच हराउँ थालेपछि पश्चिम पाल्पाका युवाहरु भने यसको संरक्षणका लागि पहल गरेका छन्, ।
फागु गाउँन र सिकाउन यहाँका पाका पुस्तासंगै नयाँ पुस्तालाई फागु सस्कृति सिकाउन पाका पुरानाहरु पनि कम्मर कसेरै लागि परेका छन् ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंगको कथामा आधारिभत भई फागु गाउने प्रचलन रहेको छ ।
ठाउँ अनुसार फरक भाकामा गाएपनि फागु गाउँदा टेम्को, ढोलक, डम्फु, मजुरा बजाउने र सोही अनुसार नृत्य देखाउने गरिन्छ । फागुन शुल्क अष्टमीको दिनदेखि चिर गाडेर पूर्णिमासम्म घर घर टोल टोलमा फागु गाउँने गरिन्छ।
पहिले पाल्पाका अधिकाँश गाउँहरूमा पाकादेखि युवा पुस्ताले मनोरञ्जनका रुपमा समेत मैलिक रूपमा खेल्दै अएको फागु हराउने अवस्थामा पुगेपछि युवाहरु जम्मा गरेर सिकाउन लागि परेको रिब्दीको गाउँपालिका वडा नंं २ का ८० वर्षीय नलराज नेपालले बताए । नेपालले टोल छिमेकका यवाहरुलाई फागुको बाजा ताल, फागुको भाका र फागुका कथाहरु सिकाउदै आएको बताएका छन् ।
यस्तै रैनादेवी छहराको सर्देवामा पनि पाका पुस्ताले सिकाएपछि अहिले यहाँका युवाले फागु गाउन र बजाउन जान्ने भएका छन् । स्थानीय युवाहरुले सक्रियता देखाएपछि समूहमार्फत फागु खेलेर आर्थिक संकलन गरी बाध्यबाधनमा सामग्री समेत किन्ने गरेको स्थानीय झवीन्द्र नेपालले बताए ।
मनोरञ्जनका साधनमा भएको विकासले मौलिक पर्वहरु मनाउनेतर्फ युवा पुस्ताको ध्यान पुग्न नसक्दा फागु पर्वको मौलिकता पनि हराउँदै गएको हो ।
युवाहरुले पाका पुस्तासंग फागु सिक्न लागि परेपनि यसको संरक्षणमा स्थानीय सरकारले चासो नदिएको गुनासो गरेका छन् ।
पहिले जिल्लाभर नै खेलीले फागु अहिले केही स्थानमा मात्रै सिमित भएको छ । यसको संरक्षणका लागि स्थानीय तहले पनि पहल गर्नुपर्ने युवाहरुले बताएका छन् ।