तानसेन।  दश वर्षको अवधिमा पाल्पाको जनसङ्ख्या १६ हजार बढीले घटेको छ । वि.स.२०६८ सालको जनगणना अनुसार जिल्लामा कूल दुई लाख ६१ हजार १८० रहेकोमा २०७८ को जनगणनामा १६ हजार १३४ ले घटेको हो।

शुक्रबार सार्वजनिक भएको तथ्याङ्क अनुसार पाल्पाको जनसंख्या दुई लाख ४५ हजार २७ रहेको जिल्ला तथ्याङ्क कार्यालय पाल्पाले जनाएको छ ।
दश वर्षको अबधिमा पाल्पामा सबैभन्दा धेरै निस्दी गाउँपालिकाको जनसङ्ख्या घटेको छ । जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख लेखनाथ पाण्डेयका अनुसार २०६८ मा निस्दीको जनसङ्ख्या २२ हजार ६११ रहेकोमा हाल १८ हजार १२० मा झरेको हो ।

पूर्वखोलामा १९ हजार ५८९ बाट घटेर १६ हजार ५२ पुगेको छ । यस्तै रैनादेवी छहराको जनसंख्या २६ हजार ४६९ बाट घटेर २३ हजार १४९ मात्र रहेको छ । यस्तै रम्भा गाउँपालिकाको २० हजार १९० बाट घटेर १७ हजार १५५ पुगेको तथ्यांक कार्यालय पाल्पाले जनाएको छ । तिनाउको जनसंख्यामा दश वर्षअघि १९ हजार ८५ रहेकोमा हाल १७ हजार ७७७ मा झरेको छ ।

यस्तै बगनासकालीको जनसंख्या २१ हजार ३६१ बाट घटेर १८ हजार ४९७ पुगेको छ । यस्तै रिब्दीकोटमा १८ हजार ७७० बाट घटेर १५ हजार ४७३ पुगेको छ । यस्तै माथागढीमा २५ हजार १७ बाट घटेर २४ हजार ५३ पुगेको छ ।

उता रामपुर नगरपालिकाको जनसङ्ख्या भने बढेको छ । यातायात र अन्य भौतिक पूर्वाधारमा विकास भएसंगै रामपुरमा २०६८ सालको तुलनामा बसाइसरेर आउनेको संख्या बढेको हो। २०६८ मा रामपुरको जनसङ्ख्या ३५ हजार ३९६ रहेकोमा हाल ४० हजार ८८३ पुगेको तथ्याङ्क कार्यालय पाल्पाले जनाएको छ । यस्तै तानसेनको जनसङ्ख्या भने सामान्य रुपमा बढेको छ ।

तानसेनको दश वर्षअघिको तुलनामा ३८७ जना मात्रै बढेको छ । तानसेनमा बस्ती विकास हुने स्थान अभावका कारण जनसङ्ख्या घटेको बताइएको छ ।

पाल्पाबाट बसाईसराई भएर जानेको सङ्ख्या बढेका कारण जनसङ्ख्या ऋणात्मक रहेको तथ्याङ्क कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया