मिटरब्याजीहरुबाट पीडित नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भयोः ठाकुर गैरे

तानसेन।  पाल्पा क्षेत्र नं. २ बाट निर्वाचित सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै गैरेले मिटरब्याजबाट पीडित नागरिकलाई अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

एमाले सासंद गैरेले मिटरब्याज पीडितहरुलाई अलमल्याउने गरी उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरुलाई कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘मिटरब्याजीबाट पीडित नागरिकहरुमाथि फेरि धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनु पर्छ । र, तत्काल पीडकहरुले कारबाही पाउनु पर्छ भन्ने कुरालाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,। उनले भने ।

तपाईको प्रतिक्रिया