
तानसेन। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड दैनिक ९ घण्टाका दरले बन्द हुने भएको छ । सो क्षेत्रमा पर्ने सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द लागिएको हो ।
सुरुङ् मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
सुरुङ् मार्ग निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ् कर्पोरेसनको माग अनुसार यही २०७९ चैत २१ गतेदेखि दैनिक नौँ घण्टा सडक बन्द गर्न लागिएको हो । जस अनुसार अर्को सूचना नआएसम्मका लागि बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
निर्माण व्यवसायीले सुरुङ् मार्गका लागि आवश्यक पूर्वाधार निर्माणका लागि सडक बन्द गर्नुपर्ने पत्र पठाएकाले सोही अनुसार निर्णय गरिएको प्रजिअ बास्तोलाले बताए ।
यसअघि पनि उक्त क्षेत्रमा पूर्वाधार निर्माणका लागि भन्दै १५ दिन सवारी आवागमन रोकेर काम हँदै आएको थियो ।
सिद्धबाबा क्षेत्रमा एक किलोमिटर १२६ मिटर दूरीको सुरुङ् मार्ग निर्माणका लागि पहिलो चरणको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।