
पाल्पा । रामपुर नगरपालिकाका दशवटै वडामा उन्नत जातको विउ बोका वितरण गरिएको छ ।
रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज नेपालको सहजीकरणमा नश्ल सुधारको लागि उन्नत जातको बोयर क्रस बोका वितरण गरेको हो ।
रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत आईतबार नगर भित्रका १० वटै वडा भित्र गठन भएका २१ वटा उपहार समुहलाई २१ वटा उन्नत जातको विउ बोका वितरण गरेको हो ।
रामपुर नगरपालिका वडा नं. ८ कोल्टारमा व्याडे बाख्रा वितरण गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले नश्ल सुधारका लागि विउ बोका वितरण गरेको बताउँदै उत्पादनमा बृद्धि गरि व्यवसायी बन्न आग्रह गरिन् ।
उनले उन्नत जातका बाख्रा पालन गरि नगरलाई मासुमा आत्मनिर्भर बनाउनुपर्ने बताइन् ।
साथै, उन्नत जातका व्याडे बाख्रा उत्पादनमा बृद्धि गरि व्यवसायिक बाख्रा पालनमा जोड दिनुपर्ने बताइन् । यस्तै रामपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यले विउको रुपमा पाएको बोकाको राम्रो हेरचाह गर्न आग्रह गर्दै उन्नत जातका बाख्रा पालन गरि आत्मनिर्भर बन्नुपर्ने बताए ।
कार्यक्रममा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका प्राविधिक संयोजक क्षितिज विक्रम खाँणले वितरण गरिएको विउ बोकाको बारेमा जानकारी गराउँदै आहार विहार र स्वास्थ्यमा ध्यान दिन आग्रह गरे ।
रामपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको संचालन रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले गरेकी थिइन् ।