
पाल्पामा आइतवार बिहान भएको बस दुर्घटनामा मृत्यु हुने यात्रुको पहिचान खुलेको छ ।
दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका ३ सूर्यपुराकी अन्दाजी ४० वर्षीया राधिका पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा परी ३८ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
सिद्धार्थ राजमार्ग अन्तरतगत जोरधारा नजिकै बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ आउँदै गरेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटना भएको हो । हाल घाइतेको उद्धार गरी तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये केही बालबालिका पनि छन् । बस सडकदेखि करिब ८० मिटर तल भीरमा खसेर अड्किएको प्रहरीले जनाएको छ ।
चालकसमेत घाइते रहेको हुँदा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।