अझै केही दिन तापक्रम नघट्ने

काठमाडाैं। हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती  पहाडी भू-भागको एक-दुई  स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखले देशभरको तापक्रम तत्काल घट्ने सम्भावना पनि नरहेको बताएको छ। बिहीबार देशका ६ स्थानको तापक्रम ४० डिग्रीभन्दा बढी मापन भएको थियो।

सबैभन्दा बढी सिमरामा ४२‍.६ डिग्री सेल्सियस पुगेको थियो। जनकपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीको तापक्रम ४० नाघेको थियो।

बुधबार जारी गरेको विशेष बुलेटिनका अनुसार  अझै तीन दिन तापक्रम नघट्ने महाशाखाको अनुमान छ। तापक्रम बढ्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले तापक्रम बढेका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले सुझाएको छ।

तपाईको प्रतिक्रिया