
तानसेन। पाल्पामा गोदाममा राखेको अवस्थामा अवैधानिक रासायनिक मल नियन्त्रणमा लिएको छ । रामपुर नगरपालिका वडा नं.५ बेझाडस्थित विजय श्रेष्ठको ४ तले पक्की घरको भुई तलाको सटरमा अवैध रुपमा भण्डारण गरी राखेको मल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अवैध मल भण्डारण गरी राखेको जानकारी पाएपछि रामपुर नगरपालिकाकी उपप्रमुख बालकुकारी थापासहितको अनुगमन टोलीले भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक ६ सय ५० बोरो युरिया मल फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
अवैध रासायनिक मल बरामद गरेपछि अनुगमन टोलीले उक्त सटर शिलबन्दी गरेको छ । पछिल्लो समय भन्सार छली मल ल्याउने र सरकारी अनुुदानमा पाइएको मल समेत विक्री गर्ने क्रम बढेको छ ।
केही दिन अघि सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको युरिया मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै शनिबार नै प्रहरीले रम्भा गाउँपालिका वडा नं. १ हुँगीबाट तीन सय ७२ बोरा अवैध युरिया बरामद गरेको थियो ।
बर्षे धान लागाउने बेलामा वर्षेनी रासायनिक मलको अभाव हुँने गर्दछ । उक्त अभाव यो वर्ष पनि देखिएको छ । यसरी अवैधानिक रुपमा मल आयात गरी बिक्री गर्ने प्रचलनका कारण आफूहरु ढगिने तथा समयमा मल नपाउने चिन्ता बढेको किसानले गुनासो गरेका छन् ।