लम्पी–स्किन रोगका कारण पाल्पामा एकसय १० गाईगोरु मरे

तानसेन। ‘लम्पी स्किन’ सङ्क्रमणका कारण पाल्पामा १ सय १० पशु चौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका अनुसार रोगका कारण चार हजार बढी पशु प्रभावित भएका छन् ।

संक्रमणका कारण दुई हजार बढी गाईगोरुको उपचार गरिएको केन्द्रले जनाएको छ । लम्पी स्किनका कारण दूध उत्पादन र कृषि क्षेत्रलाई असर पुगेको केन्द्रका पशु चिकित्सक डा.नवीन बस्यालले जानकारी दिए ।

जिल्लाको तानसेन, माथागढी, बगनासकाली, रिव्दीकोट, तिनाउ, निस्दी र रैनादेवी छहराका पशुचौपायामा लम्पी स्किन रोगको प्रभाव बढी देखिएको छ ।

यी स्थानमा कृषि क्षेत्रका लागि प्रयोग हुने पशुचौपाया र दूध उत्पादनका लागि पालिएका पशुचौपाया छन् । लम्पी स्किनकै कारण आफ्नो गोठमा अहिलेसम्म चार वटा जर्सीगाई मरेको र अझैँ तीन–चार वटा बिरामी रहेको तानसेन –१२ का किसान रुकवीर रेश्मीले बताए।

कृषि उत्पादनका लागि प्रयोग हुने हल गोरु, दूध उत्पादन गर्ने गाई मर्न थालेपछि पाल्पाका केही किसान समस्यामा परेका छन् । अहिले सामान्य एक हल गोरु खरिद गर्न ५० हजार रुपियाँ खर्च लाग्छ भने दूध उत्पादन गर्ने गाई मरेको खण्डमा किसानलाई लाखौँको क्षति हुने किसानको भनाई छ ।

लम्पी स्किनको सङ्क्रमण फैलिएपछि गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, ज्वरो आउने, पाक्ने, सुन्निनेजस्ता लक्षण देखिएको छ ।

लम्पी स्किनको समस्या देखिएका २०–३० प्रतिशत पशु मर्ने गरेको पशु सेवा प्राविधिक युवराज ज्ञवालीले बताए ।

तपाईको प्रतिक्रिया