पाल्पा बन्यो पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला

तानसेन। पाल्पा जिल्ला पूर्ण खोप दीगोपना सुनिश्चिता जिल्ला घोषणा भएको छ। जिल्लाका दशैं स्थानीय तहमा पूर्ण खोप सुनिश्चित पालिका घोषणापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेश खोप समन्वय समितिका सदस्य सचिव विनोद कुमार गिरीले खोप समन्वय समिति पाल्पाका संयोजक टंकनाथ खनाल र सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीलाई पूर्णखोप सुनिश्चितताको घोषणा प्रमाणपत्र प्रदान गरेर पूर्ण खोप दीगोपना सुनिश्चिता जिल्लाको आधिकारिक घोषणा भएको हो ।

जिल्लामा जन्मेदेखि १५ महिनाभित्रका तीन हजार ६६३ जना बालबालिकालाई लाइन लिस्टिङ् गरिएकोमा सो उमेर समूहका कुनैपनि बालबालिका शुन्य डोज र ड्रप आउट नभेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 

चालू आर्थिक वर्षमा तीन हजार २३१ जना बालबालिकाहरूले पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए। खोप सर्वेक्षणबाट दुई जना शुन्य खोप र नौँ जना बालबालिका ड्रप आउट देखिएकाले उनीहरूलाईसमेत पूर्ण खोपमा सहभागी बनाइएको डा. गिरीले बताए।

पूर्ण खोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमुख अतिथी तथा प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले राज्यले सबै नागरिकको स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने बताए। उनले खोप मात्रै नभएर अन्य जटिल रोगको उपचारको व्यवस्थामा समेत राज्यले लगानी गरिरहेको बताए ।

समाजका अन्य क्रियाकलाप पनि सुधार गरेर मानव सवास्थ्यमा अनुकुल हनेगरी संघ, प्रदेश र स्थानीय तहले कार्यक्रम गर्नुपर्नेमा गैरेले जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरुलगायतले आगामी दिनमा पनि सबै बालबालिकाले पूर्ण खोप पाउनेगरी निरन्तरताका बारेमा सब ेनिकायले पहल गर्नुपर्ने बताएका थिए ।

सो कार्यक्रममा जिल्लास्थित स्थानीय तह,महिला स्वास्थय स्वयमसेविका तथा अन्य संघ संस्थालाई पूर्ण खोप दिगोपना सुनिश्चितता बनाउन योगदान गरेकोमा सम्मानसमेत गरिएको थियो । यस्तै निरन्तरताका लागि प्रतिबद्धतामा समेत हस्ताक्षर गरिएको थियो।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता तथा स्वास्थय कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer