तानसेन। पाल्पाकाे रैनादेवी छहरामा ‘नाइट ल्याण्डिङ् हेलिप्याड’ निर्माण गरिएको छ । दुर्गम बस्तीका नागरिकहरूलाई जुनसुकै बेला उद्धार गर्न सकिने गरी रैनादेवी छहराको तिलकथानमा ‘नाइट ल्याण्डिङ् हेलिप्याड’ बनाइएको हो ।

गत २०७९ पुसदेखि निर्माण भएको हेलिप्याड चार महिनामा तयार भएको नेपाली सेनाले जनाएको छ । तयार भएको नाइट ल्याण्डिङ् हेलिप्याड रैनादेवी छहरा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको मध्यपश्चिम पृतनापति यामप्रसाद ढकालले रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईलाई हस्तान्तरण गरे।

हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै पृतनापति ढकालले विपद्का बेला उद्धार तथा राहतको कार्यलाई सहज बनाउन हेलिप्याडले सहयोग पुर्याउने बताए।

नेपाली सेनाले नेपाली नागरिकसँगको ऐतिहासिक सम्बन्ध जीवन्त बनाउन निरन्तर यस्ता गतिविधिलाई जोड दिएको ढकालले बताए। जबसम्म नेपाली सेना रहन्छ तबसम्म नेपाली जनता र राष्ट्र रहने भन्दै उनले सेना र नागरिकको सम्बन्ध एकअर्काको परिपूरक भएको बताए।

रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले सदरमुकाम तानसेनदेखि ४३ किलोमिटर पश्चिममा हेलप्याड बन्नु सराहनीय भएको बताए।

नेपाली सेना पाल्पास्थित दि महिन्द्र फेमस दल गणका गणपति बालमुकुन्द विष्टले हेलिप्याड निर्माणपछि जुनसुकै बेला उद्धारको कार्य गर्न सहज हुने बताए।  रातको समयमा पनि विपद् वा अन्य कुनै कारणले तत्कालै हेलिकप्टरबाट सेवा लिन हेलिप्याड बनाइएको बताए ।

हेलिप्याड बनाउन सहयोग गर्ने गाउँपालिका, वन समूह, राजनैतिक दल, तथा अन्य सङ्घसंस्थालाई उनले धन्यवाद दिए।

तपाईको प्रतिक्रिया