लुम्बिनीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार  मनसुनको न्यून चापीय रेखा  पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

मनसुनी वायुका  कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महााशखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

वर्षा र हावाहुरीका कारण  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने  भएकाले  हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया