राजावादीले गतिविधि बढाएर कुनै फरक पर्दैनः प्रकाशमान सिंह

तानसेन। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजावादीहरुको गतिविधि बढेपनि राजतन्त्रको बारेमा कुरा गर्नुको कुनै अर्थ नरहने बताएका छन् । उनले विगतको सरकारले गर्न नसकेको काम वर्तमान सरकारले अगाडि बढाएको दावी समेत गरे ।

शनिबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षबाट आएकाले राजा ल्याउने कुरा गणतन्त्रवादीका लागि स्वीकार्य नहुने जिकिर गरे।

केही संचारमाध्यम् र सामाजिक संजालमा भ्रमपूर्ण समाचार सम्प्रेषण भइरहेको बताउँदै त्यसले जनतामा निरासा पैदा गरेको बताए। उनले सरकारबाट जनताको चाहना अनुसार काम भइरहेको बताउँदै कामको नतिजा केही समयपछि देखिने उल्लेख गरे।

संचारकर्मीहरुको जिज्ञाशामा उनले सरकार राजनैतिक स्थायित्व कायम गर्नका लागि बनेकाले जनताको चाहना अनुसार काम हुनेमा ढुक्क रहन आग्रह गरे ।

उनले विगतको सरकार बनेपछि विभिन्न काण्ड सुनिने गरेकोमा वर्तमान सरकार आएपछि कुनै पनि काण्ड तथा नराम्रो काम सुन्न नपरेको दावी गरे।

विगतमा राजनैतिक अस्थिरताका कारण जनताले चाहेजस्तो काम हुन नसकेको बताउँदैमन्त्री सिंहले वर्तमान सरकारले पूर्व पदाधिकारीहरुको सेवा सुविधा बढाउन खोजेको भन्ने समाचारमा कुनै सत्यता नरहेको दावी गरे।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer