
तानसेन। रिब्दीकोट गाउँपालिकामा प्राङ्गगारिक मल उद्योग संचालनमा आएको छ। गाउँपालिका र जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त पहलमा संचालित प्राङ्गगारिक मल उद्योगबाट दैनिक पाँच कविन्टल मल उत्पादन गरी विक्री सुरु भएको हो।
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको रिब्दीकोट गाउँपालिकाले गत आर्थिक वर्षबाट मल उद्योग संचालनका लागि १५ लाख विनियोजन गरेर कारखाना निर्माण सुरु गरेको थियो । यस्तै चालु आर्थिक वर्षमा थप चार लाख तथा सहकारीमा आवद्ध सेयर सदस्यहरुबाट २० लाख गरी ३९ लाखको लागतमा प्राङ्गगारिक मल कारखानाबाट मल उत्पादन र वितरण सुरु भएको हो ।
मल कारखानाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति (बसन्त) ले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये रिब्दीकोटले पहिलो पटक प्राङ्गगारिक उत्पादनलाई जोड दिनु प्रदेशकै नमूना कार्य भएको बताए । उनले रिब्दीकोट गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष प्राङ्गगारिक मल कारखाना खोल्ने नीति तथा कार्यक्रम बनाएर काम सुरु गरेपछि यो वर्ष लुम्बिनी प्रदेश सरकारले पनि प्राङ्गगारिक मल उत्पादनलाई प्राथमिकतामा राखेको बताए ।
ग्रामीण भेगमा लागि दैनिक चार पाँच सय किलो मल उत्पादन गर्नु निकै राम्रो भएको बताउँदै सभामुख घर्तीले भने,”लुम्बिनी प्रदेशको नीति र रिब्दीकोट गाउँपालिकाको पहल व्यवहारिक देखिएको छ ।’ अब लुम्बिनी प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्नुपर्छ ।”
उनले ग्रामीण क्षेत्रमा गाईबस्तु नपाल्ने र खेती पनि कम गर्ने प्रचलन बढेका बेला स्याउला र पातपतिङ्गरबाट वर्षेनी आगलागीका घटना बढेको तर, ती झारपात र स्याउलाबाट मल बनाउने क्रम घटेको अवस्थामा माटोको उर्वरा शक्ति बढाउनुका साथै अर्गानिक उत्पादनमा जोड दिएर मावन जीवनलाई पनि स्वस्थकर तरकारी खुवाउने अभियान सबैले सिको गर्नुपर्ने बताए । उनले रासायनिक मलको प्रयोग घटाएर प्राङ्गगारिक मलको प्रयोग बढाउदै जानुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले निर्वाचित भएदेखि देखेको सपना पूरा भएको बताए । उनले गाउँपालिकाले कृषि र पशु पालनलाई प्राथमिकतामा राखेर अघि बढेको सन्र्दभमा किसानले खेती गर्दा उत्पादन कम हुने मलको अभाव देखिने तथा उत्पालित उपजले मावन स्वास्थ्यका लागि पूर्ण स्वस्थकर नरहेको हुँदा स्थानीय सरकारले मल कारखाना स्थापनाको अवधारणा ल्याएको बताए ।
“खेती गर्दा खेतबारीमा उत्पादन कम हुँदै गएको गुनासो सम्बोधन गर्नका लागि सहकारीसँग सहकार्य गरेका हौँ,’ उनले भने, -‘अहिले सानो लगानी भए पनि पछि यसलाई बिस्तार गर्न सकिनेरहेछ ।’
रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्ति नष्ट गरिरहेको हुँदा खेतबारीमा खेती गर्दा पनि उत्पादन बढाउन नसकेको अवस्थामा स्थानीय सरकारले अर्गानिक उत्पादन गर्नका लागि सुरुवात गरेको बताए। उनले माटोको उर्वरा शक्ति बढाउन रासायनिक मलको प्रयोग घटाउने र प्राङ्गगारिक मलको प्रयोग बढाउने अभियान पािलकाले थालनी गरेको बताए ।
सहकारीले कारखानाका लागि तीन रोपनी जग्गा लिजमा लिएको मल उत्पालन र विक्री गर्दै आएको छ । एक रोपनीमा कारखाना र बाँकी जग्गामा पशुपालन र कृषि गर्ने योजना रहेको छ। पछिल्लो समयमा कृषिबालीमा जथाभावी रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको गुणस्तर बिग्रदै गएकाले प्रत्येक पालिकाले सानासाना यस्ता कारखाना खोल्न सक्ने प्रांगारिक मल उत्पादनका विज्ञ यमबहादुर दर्लामीले बताए । माटोको उर्वराशक्ति नै घट्दा उत्पादनमा समेत असर पुगेका बेला यस्ता कारखानामा उत्पादित मलले माटोको गुणस्तर सुधारमा सहयोग पुग्ने उनले बताए ।
अमृतबुटी जैविक मल नाम दिइएको यसमा वनमारा, तितेपाती र पहाडी झारपात मिलाइएको छ । मल निर्माणका लागि बोनमिल, पिना, बायोब्याक्टेरिया, सुडोमोनस, ट्राइकोडर्मा, सीविड, क्याल्सियम, गोबर र प्रेस मड जैविक मलमा प्रयोग गरिएको विज्ञ दर्लामीले जानकारी दिए । यसमा नाइट्रोजन १ प्रतिशत, फस्फोरस ०.५ प्रतिशत, पोटास १ प्रतिशत, चिस्यान २५ प्रतिशत, पिएच ७ प्रतिशत रहेको छ ।
प्रतिकेजी २५ रुपैंँया मूल्य तय गरिएको मल उत्पादन गरी प्याकिङ भएको मितिले बढीमा दुई वर्षसम्म प्रयोग गर्न मिल्छ । केही वर्षयता माटोको गुणस्तर निकै बिग्रेको हुँदा बिग्रिएको गुणस्तर सुधारका लागि प्राङ्गगारिक मलले टेवा पुग्ने कृषि शाखा प्रमुख प्रज्ञा लाम्टाङ्गेले बताइन् ।
विगतका वर्षहरुमा माटो परीक्षण गर्दा रासायनिक मलको मात्रा नमिलाई राख्ने र विषादीको प्रयोग समेत बढेको पाइएपछि अहिले पालिकाले प्राङ्गगारिक मलको प्रयोग बढाएर माटोको गुणस्तर सुधार गरी उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्ने प्रमुख लाम्टाङ्गेले बताइन् ।
माटोलाई मर्न नदिन, अम्लीयपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्रांगारिक मलको प्रयोग बढाउनुपर्ने गाउँपालिकासँगको सहकार्यमा कृषि परियोजना सञ्चालन गर्दै आएका ग्रामीण आर्थिक विकास संघ (रेडा)का कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । उनले परियोजनमार्फत गाड्यौला मल तथा घरमै जौविक विधिबाट तयार हुनसक्ने प्रांगारिक मल उत्पादन गर्न पनि स्थानीयलाई तालिम प्रदान गरिदै आएको बताए ।
रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले अनुदान लिने र पछि बन्द गर्ने काम धेरै स्थानमा भएको भन्दै सहकारीले सुरु गरेको अभियानले किसानलाई निरन्तर सुविधा दिने गरी अघि बढ्न सुझाव दिइन् ।
माटोको पीएच ६ दशमलव ५ भन्दा कम भए अम्लीय, ७ दशमलव ५ सम्म भए मध्यम र सोभन्दा माथि भए क्षारीय हुन्छ । किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून रहेको भेटिएको थियो ।
अधिकांश स्थानमा माटोको गुणस्तर बिग्रँदै गएको देखिएको छ । ‘म बनाउँछु मेरो रिब्दीकोट’ अभियान अन्तर्गत पालिकाभित्र मल कारखाना निर्माण भएकाले आगामी दिनमा कृषि उत्पादन बढाउन र माटोको गुणस्तर सुधार्न सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताए ।
अकबरे खुसार्नी, बेसार, काक्रा, टमाटर जस्ता तरकारी तथा सुन्तलालगायतका फलफूलमा व्यवसायीक रुपमा खेती गर्ने किसानले जैविक मलको प्रयोग गरेर उत्पादन बढाउन टेवा पुग्ने भएको छ । मल कारखानामा गाईभैंसीको गोबरबाहेक स्थानीय झारपात, खसेका पात पतिंगर, हरिया घाँस तथा स्याउलालगायत स्थानीय कच्चा पदार्थको प्रयोग गरिएको पछिल्लो समयमा गाउँघरमा बसाइँसराईका कारण पछिल्लो समय गोठे मलको अभाव रहेकोमा पालिकाभित्रका किसानका यो मल वितरण गर्न सके माटोको गुणस्तर सुधार भर्इ उत्पादन बढ्ने गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जीसीले बताए ।
सरकारको २०७८ को प्रांगारिक तथा जीवाणु मल निर्देशिकाको मापदण्ड अनुसार कारखानाबाट मल उत्पादन गरिएको छ । निर्देशिका अनुसार स्थानीयस्तरमा प्रांगारिक मल तथा जीवाणु मलको व्यवस्थापनका लागि उपप्रमुख वा उपाध्यक्ष संयोजक, प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।
पछिल्ला वर्षहरुमा गाउँमा गाईवस्तु नपाल्ने र खेती गर्दा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै जाने तथा उत्पादित तरकारी मानव स्वास्थ्यका लागि पनि उपयुक्त नभएको पाइएपछि रिब्दीकोट गाउँपालिका–५, नयाँटोलामा प्राङ्गगारिक मल उद्योग निर्माण गरी मल उत्पादन सुरु भएको छ। जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थामाफर्त उद्योगको व्यवस्थापन गर्दै आएको सहकारीका व्यवस्थापक नारायण बहादुर लामटाङ्गेले बताए ।
स्थानीय स्तरमा मल उत्पादन सुरु भएपछि कारखानमा रोगगारीको अवसर समेत मिलेको स्थानीयले बताएका छन् । यस्तै खेर गएका तितेपाती, बनमारा जस्ता बनस्पतीके विक्री समेत हुन थालेको छ । गाउँपालिका र सहरकीबाट गरिएको पहलले किसानलाई कृषि कर्मप्रति थप उत्साह थपिएको स्थानीयहरुले बताएका छन् ।