मजदुरी, केयर वर्क र संघर्ष चिर्दै न्याय सम्पादनसम्म : सीता कुमालको प्रेरणादायी यात्रा

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहामा जन्मिएकी सीता कुमाल आज सोही वडाकी निर्वाचित महिला जनप्रतिनिधि हुन्। २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि उनी हाल रिब्दीकोट गाउँपालिकाको न्यायिक समितिको सदस्यका रूपमा कार्यरत छिन्। स्थानीय विवाद समाधान, न्याय सम्पादन, विकास योजनाको अनुगमन र जनतासँग प्रत्यक्ष संवाद—यी सबै जिम्मेवारीमा उनी सक्रिय देखिन्छिन्।

तर, यो पहिचान सहज यात्राबाट बनेको होइन। आर्थिक अभाव, ज्याला मजदुरी, न्यून तलबमा अध्यापन, मातृत्व, अदृश्य केयर वर्क (हेरचाह श्रम), सामाजिक नेतृत्व र राजनीतिक सक्रियताको लामो संघर्षपछि उनी यहाँसम्म आइपुगेकी हुन्। सीता कुमालको जीवनकथा आज धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेको छ।

अभावले भरिएको बाल्यकाल र शिक्षाप्रतिको मोहः

सीताको बाल्यकाल कमजोर आर्थिक अवस्थाबीच बित्यो। परिवारको दैनिकी छाक टार्नमै सीमित थियो। अभावकै कारण सानै उमेरदेखि जिम्मेवारीको बोझ बोक्नुपर्‍यो। तर ती सबै कठिनाइबीच पनि शिक्षाप्रतिको मोह उनको मनमा गहिरो थियो।

 

परिवारका सात जना सन्तानमध्ये छैटौ सन्तानका रुपमा जोगीथुममा जन्मिएकी थिइन् सीता,  कमजोर आर्थिक अवस्थाबाट गुज्रिएको बालापनसंगै गाउँकै विद्यालयबाट एसएलसी पास गर्न सफल भइन् ।

“बालापन निकै गाह्रो थियो, छाक टार्नै मुस्किल हुन्थ्यो,” उनी सम्झिन्छिन्, “तर पढ्नैपर्छ भन्ने चाहना मनबाट कहिल्यै हटेन।”

जेनतेन गर्दै उनले २०६४ सालमा एसएलसी उत्तीर्ण गरिन्। आर्थिक अभावका बीच एसएलसी पास गर्नु उनका लागि ठूलो उपलब्धि थियो। तर यहीँबाट नयाँ संघर्ष सुरु भयो—उच्च शिक्षाको।

शहरमा पढ्ने सपना र मजदुरीको यथार्थः

गाउँमा उच्च मावि खुलेपनि आर्थिक अवस्था राम्रो नहुँदा साथिसंगै भागेर सदरमुकाम तानसेनमा अध्ययनका लागि पुगेको उनले बताउछिन्।

सीता भन्छिन्- “सुरुमा मोहन कन्या माविमा दुई दिन पुगे, साथीले विज्ञान विषय अध्ययन गर्ने भएपछि उनीसंगै विज्ञान पढ्न थाले, पैसा थिएन। घरमा माग्ने कुरै थिए, भर्ना भएपछि ६ हिनासम्म निरन्तर कलास लिगे।, पैसा नभएपछि गाउँका साथीहरूसंग ज्याला मजदुरी गरेर आर्थिक जाेहाे गर्न थाले ।”  उनी भन्छिन्- ” मैलाइ पढाउने शिक्षककाे घरमा समेत ज्याला मजदूरीमा काम गरे ”  धेरैका लागि यही मोडमा पढाइ टुंगिन्थ्यो, तर सीताले हार मानिनन्।

ज्याला मजदुरी गर्दै उनले करिब दुई वर्षको पढाइ पूरा गरिन्। कहिले घरमा काम गरेर, कहिले साना मजदुरी गर्दै उनले शिक्षा जोगाइराखिन्। यो समय उनको जीवनको सबैभन्दा कठिन कालखण्ड थियो, जहाँ सपना बचाउन उनले श्रमलाई सहारा बनाइन्।

न्यून तलबमा अध्यापन : पेशा र प्रतिबद्धताः

पढाइ सकेर गाउँ फर्किएपछि उनले ६ महिना बाल शिक्षामा अध्यापन गरिन्। त्यसपछि गुल्मीको अगाहामा रहेको विद्यालयमा मासिक दुई हजार रुपैयाँ तलबमा डेढ वर्ष अध्यापन गरिन् (वि.स. २०६७–२०६८)। न्यून तलब, लामो दूरी र पारिवारिक जिम्मेवारीबीच पनि उनले शिक्षण पेशा छाडिनन्।

पछि  अर्काे  विद्यालयमा मासिक चार हजार रुपैयाँमा अध्यापन गरिन्। यही समयमा उनको विवाह भयो। विवाहपछि पनि शिक्षण यात्रामा निरन्तरता आयो। भुटुक्दीमा अध्यापन गर्ने अवसर मिल्यो। पछि गाउँकै विद्यालयमा कक्षा थप भएपछि मासिक पाँच हजार रुपैयाँका दरले डेढ वर्षसम्म अध्यापन गरिन्।

त्यसपछि दिगाम पुगेर कक्षा ८ सम्म विज्ञान विषय आठ महिनासम्म पढाइन्। शिक्षण पेशा उनको लागि केवल आम्दानीको स्रोत मात्र थिएन, समाज परिवर्तनको माध्यम पनि थियो। उनी शिक्षा, समाज र परिवारकाे जम्मेवारी एकैसाथ अघि बढाउँदै गइन्।

विद्यार्थी राजनीतिबाट सामाजिक नेतृत्वसम्मः

सीताको नेतृत्व चेतना विद्यालय तहदेखि नै विकसित हुँदै आएको थियो। उनी कक्षा ९ मा पढ्दादेखि अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमा आबद्ध थिइन्। तानसेनमा अध्ययन गर्दा दुई वटा अधिवेशनबाट निर्वाचित भई नेतृत्वदायी भूमिकामा रहिन्।

शिक्षा, अध्यापन, संगठन र परिवार—यी सबैलाई सन्तुलनमा राख्दै अघि बढ्नु सजिलो थिएन। तर उनले निरन्तरता दिइन्। यही अभ्यासले उनलाई सामाजिक नेतृत्वतर्फ अग्रसर बनायो।

मातृत्व, केयर वर्क र अदृश्य श्रमः

२०७२ सालमा छोरी जन्मिएपछि उनले केही समय शिक्षण पेशाबाट विश्राम लिनुपर्‍यो। सन्तानको हेरचाह, घरायसी काम र श्रीमान् घरमा नहुने अवस्थाले उनीमाथि थप जिम्मेवारी थपियो। सन्तान हुर्काउन माइतीको सहयोग अनिवार्य बन्यो।

काखमा बच्चा च्यापेर बिहान ५ बजे उठेर ट्युसन पढाउन जानु, साँझ साढे ६ बजेसम्म पढाएर फर्किएपछि खाना बनाउने, घर सम्हाल्ने र सन्तान सुताएपछि मात्रै विश्राम लिनु—यो उनको दैनिकी बन्यो। यति मात्रै हाेइन, माइती घरका अन्य सदस्य हेरचाह पनि उनको जिम्मेवारी थियो। बुढी आमा दिदी र बच्चा हेरेर सामाजिक काममा लाग्नु निकै चुनाैतीपूर्ण थियाे । तर, उनले अवसरका रूपमा लिगिन् ।

यी सबै काम—घरको काम, सन्तान र वृद्धको हेरचाह—‘केयर वर्क’ हुन्, जसलाई समाजले प्रायः अदृश्य बनाउँछ। तर यही श्रमले उनको सार्वजनिक जीवन सम्भव बनाएको थियो।

“घर, सन्तान र समाजलाई सँगै सम्हाल्नु निकै गाह्रो थियो,” उनी भन्छिन्, “तर मैले यी जिम्मेवारीलाई कमजोरी होइन, आफ्नो शक्तिका रूपमा लिने प्रयास गरेँ।”

केयर वर्कबाटै उनले धैर्य, संवेदनशीलता र समय व्यवस्थापन सिकिन्, जुन गुण आज न्यायिक समितिमा विवाद समाधान गर्दा स्पष्ट देखिन्छ।

पुनः अध्यापन र नेतृत्वमा सक्रियताः

केही समयपछि उनी पुनः गाउँकै विद्यालयमा फर्किइन्। कक्षा ८ सम्म गणित र विज्ञान विषय पढाउन थालिन्। १५ महिना अध्यापन गरेपछि माध्यमिक तहमा अध्ययन गर्दै नेतृत्व तहमा अझ सक्रिय बनिन्।

शिक्षा केवल जागिरका लागि होइन, सामाजिक परिवर्तनका लागि महत्वपूर्ण हुने अनुभव उनले यही यात्राबाट प्राप्त गरिन्।

जनप्रतिनिधि र न्याय सम्पादनको जिम्मेवारीः

अध्यापन पेशाबाट पूर्ण रूपमा अघि बढ्दै उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा होमिइन्। जनताको विश्वास जित्दै उनी वडा नं. १ की महिला जनप्रतिनिधि निर्वाचित भइन्।

आज उनी न्यायिक समितिको सदस्यका रूपमा स्थानीय विवाद समाधान, मेलमिलाप, योजनाको अनुगमन र जनताका गुनासा सुन्ने काममा पनि सक्रिय छिन्। न्याय सम्पादनजस्तो संवेदनशील क्षेत्रमा महिलाको सहभागिताले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

फेरि पढाइतर्फ फर्कँदैः

घर, समाज र जनप्रतिनिधिको जिम्मेवारीबीच पनि उनले पढाइलाई निरन्तरता दिएकी छिन्। हाल उनले मास्टर डिग्रीको अध्ययन पुनः सुरु गरेकी छिन्। “इच्छा भए सबै गर्न सकिन्छ,” उनी भन्छिन्, “परिस्थिति जस्तोसुकै भए पनि अघि बढ्न सकिन्छ।” उनी भन्छिन,-” बिचमा पढाइ राेक्कियाे, मेराे सानैदेखिकाे साेच थियाे, डिग्री पढ्ने अहिले निरन्तरता दिएकी छु।”

प्रेरणाको नाम : सीता कुमालः

सीता कुमालको जीवनकथा एउटा व्यक्तिको मात्र कथा होइन। यो कथा हो—आर्थिक अभावबीच मजदुरी गरेर पढ्ने साहश्को, न्यून तलबमा अध्यापन गर्दै समाज बदल्ने इच्छाको, अदृश्य केयर वर्कसँगै नेतृत्वमा उभिने दृढताको।

उनको यात्राले देखाउँछ—महिलाको हेरचाह श्रम कमजोरी होइन, नेतृत्वको आधार हुन सक्छ। संघर्षलाई अवसरमा बदल्न सकियो भने परिवर्तन सम्भव हुन्छ। आज सीता कुमाल रिब्दीकोट मात्र होइन, धेरै महिला र युवाका लागि आशा र प्रेरणाको स्राेत बन्न सकछिन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको