पाल्पाको तानसेनमा स्थानीय तह स्तरीय तथ्यांकीय साक्षरता कार्यक्रम सम्पन्न

पाल्पा । पाल्पाको तानसेनमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरू, शिक्षक तथा विद्यार्थीहरुका लागि पहिलोपटक ’तथ्यांकीय साक्षरता’ कार्यक्रम सम्पन्न भएको छ । तथ्याङ्क समन्वय कार्यालय, पाल्पाद्वारा आयोजित उक्त कार्यक्रममा तथ्याङ्कको सही प्रयोग, यसको महत्व र स्थानीय योजना निर्माणमा तथ्याङ्कको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा तथ्याङ्क अधिकृत तथा सूचना अधिकारी अवधेश कुमार शुक्लाले तथ्याङ्कको परिचय, महत्व र प्राप्तिका स्रोतहरूका बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले आधिकारिक तथ्याङ्कको संकलन, राष्ट्रिय तथ्याङ्क कार्यालयका मुख्य उत्पादन, राष्ट्रिय तथ्याङ्क, तथ्याङ्क सम्बन्धी गोपनीयताको हक र विद्यमान नीतिगत व्यवस्थाहरूका बारेमा सहभागीहरूलाई प्रष्ट गरेका थिए ।

तथ्याङ्क अधिकृत शुक्लाले राष्ट्रिय कृषिगणना प्रमुख नतिजा, नेपालको गरिबीको दर, नेपाल अर्थतन्त्रको आकार, कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर सम्वन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रमुख सामाजिक सूचकहरू, वैवाहिक सूचकहरू बालबालिका सम्बन्धी सूचकहरू, अपाङ्गता सम्बन्धी प्रमुख सूचकहरू, शैक्षिक सूचकहरू, जातजाती सूचकहरू, आर्थिक सूचकहरु, परिवारिक सूचकहरु कार्यक्रममा प्रस्तुती थियो ।

सो कार्यक्रममा तानसेन नगरपालिका र वडागत रुपमा घरायसी सुविधा सम्बन्धी सूचकहरू, बत्ति बाल्न प्रयोग गरिने मुख्य स्रोतका आधारमा परिवार संख्या, शौचालय सुविधा अनुसार परिवार संख्या खाना पकाउन प्रयोग गरिने मुख्य इन्धनको आधारमा परिवार संख्या, खानेपानीको प्रमुख स्रोतहरू, बत्ति बाल्न प्रयोग गरिने मुख्य स्रोतका आधारमा परिवार संख्या, शौचालय सुविधा अनुसार परिवार संख्या, खानेपानीको प्रमुख स्रोतहरू लगायतका विषयमा तथ्यांक अधिकृत शुक्लाले जानकारी गराएका थिए ।

सो कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहको सर्वाङ्गीण विकास र निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन तथ्याङ्क अपरिहार्य रहेको बताएका थिए । नगर प्रमुख श्रेष्ठले पर्यटन, कृषि तथा स्वास्थ्य, सडक पूर्वाधारका क्षेत्रमा तथ्यांकको प्रयोग गरी विकास निर्माण काम गर्दा सहजता हुने बताए ।

तथ्याङ्क समन्वय कार्यालय, पाल्पाका तथ्यांक समन्वय अधिकारी केशव ज्ञवालीले तानसेन पछि, रामपुर र रिडीमा स्थानीय तह तथ्यांकीय साक्षरता सम्वन्धी कार्यक्रम हुने बताए । सुपरिवेक्षक रामचन्द्र वाग्ले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया