पाल्पा । नेत्र विक्रम चन्द नेतृत्वकाे नेकपा माओवादीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ बाट दलित नेता विष्णु ठडराईलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको जिल्ला र केन्द्रीय कमिटीको विशेष निर्णयसँगै ठडराई चुनावी मैदानमा होमिएका हुन्।
विष्णु ठडराई नेपाली राजनीतिको एउटा यस्तो नाम हो, जसले १० वर्षे जनयुद्धमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका थिए।
पूर्णकालीन कार्यकर्ताको रूपमा लामो समय भूमिगत राजनीति गरेका उनी पार्टीभित्र एक निष्ठावान र जुझारु नेताका रूपमा चिनिन्छन्।
जनयुद्धका क्रममा पाल्पा र आसपासका जिल्लामा संगठन विस्तार र जनपरिचालनमा उनको मुख्य भूमिका थियो।
दलित समुदायबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्नुले माओवादीले अघि सारेको समावेशी लोकतन्त्र र उत्पीडित वर्गको नेतृत्वको एजेन्डालाई पुष्टि गरेको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्।



