तनसेन। फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नं. २ मा उम्मेदवार बनेका ठाकुरप्रसाद गैरे रैनादेवी छहराका विभिन्न वडामा मतदातासंग चुनावी घरदैलोलाई बढाएका छन् । निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेद्वार गैरे मत माग्ने कामलाई तीव्रता दिएका हुन् ।सोमबारदेखि रैनादेवी छहरा ४ को अमलाबासबाट चुनावी प्रचार अभियान सुरु गरेका उम्मेदवार गैरेले मतदाताको घर–दैलोमा पुगेर मत मागेका हुन् ।
निर्वतमान प्रतिनिधिसभा सदस्य समेत रहेका उम्मेदवार गैरेले रैनादेवी छहराको मुझुङ, भालुखानबाट मतदाता भेटघाट सुरु गरे । यस्तै अमलाबास, छहरा, मेहलढाप, तीनधारा सल्लेधारा हुदै जुठापौवा, बल्डेङगढी र सत्यवतीका मतदाताको घरघरमा पुगेका छन् ।
मत माग्ने क्रममा उम्मेदवार गैरेले देशमा बढेको भष्ट्राचारको अन्त्य, सुशासन र नवपुस्ताको मागलाई सम्बोधन गर्न एस पटकको निर्वाचन एमालेले जित्नुपर्ने बताए। उनले युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न स्थानीय स्तरमै सीप र उद्यमशीलतासंग जोडेर कार्यक्रम लागु गर्न आवश्यक भूमिका खेल्ने बताएका छन् ।
पश्चिम क्षेत्रको लाइफलाइनका रुपमा रहेको हार्थोक छहरा मोटर बाटोको स्तरोन्नतिको काम सुरु भएको बताउदै समयमै गुणस्तरीय कामको सुनिश्चितासहित सम्पन्न गराउन आफ्नो पक्षबाट पहल गर्ने उम्मेदवार गैरेले प्रतिबद्धता व्यक्त गरे।
केही सुरु भएका र केही गर्नै पर्ने योजनाहरु बाँकी रहेकोले पुनः एकपटक सांसदको उम्मेदवार बनेको स्पष्ट पार्दै नेता गैरेले मतदातालाई एक पटक पूरा कार्यकाल काम गर्ने गरी मत दिएर विजयी बनाउन आग्रह गरेका छन् ।



