रैनादेवीमा भान्सा सुधार कार्यक्रम

तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न “भान्सा सुधार कार्यक्रम” सहितको प्रशिक्षण कार्यक्रम आयोजना भएको छ । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनको आयोजनामा दुई दिने अभिमुखीकरण गरिएको हो।

कार्यक्रममा दैनिक खाने खाना उत्तम औषधि भएको हुँदा भान्सा सुधार नै आरोग्यको प्रथम विन्दु भएको बताइएको थियो । गृहिणी, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका, आमा समूहका सदस्यहरू, वन उपभोक्ता समितिका सदस्यसहितको ३० जना बढीको उपस्थितीमा भएको कार्यक्रममा स्वस्थ्यकर खानपिन, प्रकृति अनुकूल रहनसहन, र भान्सामा उपलब्ध जडिबुटीहरूको सही प्रयोगका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

तालिममा खानपिन र अस्वस्थकर (जंक फुड) पत्रुखानालाई निरुत्साहित गर्दै, परम्परागत परिकार र रैथाने अन्नबालीहरूको संरक्षण र प्रवर्द्धनमा टेवा पुऱ्याउने विश्वासका साथ सहजीकरण गरिएको गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए। उनले सिको कुरा व्यवहारमा उतेरर स्वस्थ समाज निर्माणका लागि सबैले पहल गर्न अनुरोध गरे । स्वस्थ रहने उपाय घरमै छ भन्ने तथ्यलाई आत्मसात् गर्दै, प्रत्येक घरको भान्सामा आहार विज्ञानका सामान्य नियमहरूलाई व्यवहारमा उतार्न सकेमा नसर्ने रोगहरूको रोकथाममा ठूलो मद्दत पुग्ने समेत जानकारी गराइएको तालिमका सहभागीले बताएका छन् ।

तालिमले स्वास्थ्य संरक्षण, प्रवर्द्धन, र पुनर्स्थापनामा महत्वपूर्ण सहयोग पुऱ्याउने बताउदै एकातर्फ स्वास्थ्य क्षेत्रको ठूलो रकम रोगको उपचारमा खर्च भइरहेको परिपेक्षमा उक्त रकम बचत भई आर्थिक भार कम हुने तथा देशले उत्पादनशील र स्वस्थ नागरिक प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा भान्सामा काम गर्दा ध्यान दिनुपर्ने आधारभूत कुराहरू, खाना पकाउने क्रममा अपनाउनुपर्ने स्वच्छता, भान्साको नियमित सरसफाइ, सुरक्षित र सफा पिउने पानीको प्रयोग, व्यक्तिगत सरसफाइ तथा परिवारका सदस्यहरूको स्वास्थ्य संरक्षण जस्ता विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

दुई दिनसम्म सञ्चालन गरिएको तालिममा डाक्टर रोमहर्ष नेपाल, डाक्टर हौसला धिताल, डाक्टर शिशिर पटेल डाक्टर र बिक्रम मलेगो लगायतका विज्ञहरूले प्रशिक्षण दिएका थिए।

कार्यक्रमपछि सहभागीले सरसफाई सम्बन्धी चेतना वृद्धि गरी घरपरिवारको वातावरण स्वच्छ राख्न प्रेरित गर्न सकेमा विभिन्न महामारी जन्य संक्रामक रोग तथा नसर्ने रोगहरूबाट पनि बच्न सकिने विश्वास व्यक्त गरेको गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer