दुई प्रदेश जोड्ने राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल, अब ७० टनसम्मका सवारी गुड्ने

तानसेन। लुम्बिनी र गण्डकी प्रदेश जोड्ने गरी कालीगण्डकी नदीमाथि नेपालकै पहिलो ‘टाइड आर्च’ मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । पाल्पा र स्याङ्जा जिल्लाको सीमाना राम्दीमा पुल निर्माण सम्पन्न भएको हो।

निर्माणको मुख्य काम सकिएसँगै अब केही सामान्य फिनिसिङ र पुलका दुवै छेउका अवरोध हटेपछि सवारीसाधन सञ्चालनमा ल्याइने तयारी गरिएको छ । पुल सेक्टर पोखराका अनुसार राम्दीमा बनेको यो पुल ‘कङ्क्रिट फिल स्टिल ट्युब आर्च ब्रिज (टाइड आर्च) प्रविधिमा आधारित हो । पुलको डिजाइन थाइल्यान्डका डिजाइनरले तयार गरेका हुन् । यस्तै प्रकारका पुल भुटान, चीन र दुवईमा भए पनि नेपालमा भने पहिलो पटक निर्माण गरिएको हो । एक स्पानमा निर्माण गरिएको पुल १२० मिटर लामो र ११ मिटर चौडा छ ।

पुल सेक्टर पोखराका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार नयाँ पुल २०२८ सालमा निर्माण गरिएको पुरानो ट्रस पुलभन्दा २७ मिटर लामो छ । यो पुल निर्माणका लागि २०७९ असार ३० गते हिम सगरमाथा प्रालि, चितवनसँग तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर डिजाइन तयार हुन ढिलाइ हुनु, भारतबाट निर्माण सामग्री र चीनबाट आवश्यक प्राविधिक विज्ञ समयमै उपलब्ध हुन नसक्दा निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन ।

निर्माण कम्पनीसँग २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँमा सम्झौता भएको यो पुलमा दुवै साइडका केही सामान्य निर्माण कार्य र रङरोगन मात्रै बाँकी रहेको प्रमुख अधिकारीले बताए। पुरानो ट्रस पुल जीर्ण बन्दै जाँदा विशेषगरी भारी सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो । नयाँ पुल भने ७० मेट्रिक टन भार क्षमताको भएकाले ठूला मालवाहक सवारीसाधनसमेत सहज रूपमा सञ्चालन गर्न सकिनेछ । निर्माण सम्पन्न गर्न सुरुमा तीन वर्षको समय तोकिएको भए पनि काम सम्पन्न गर्न असार २७ सम्म एक वर्ष म्याद थप गरिएको थियो ।

पुल सञ्चालनअघि दुवै छेउमा रहेका केही घर हटाउन बाँकी रहेको छ । ती संरचना व्यवस्थापनको काम सम्पन्न भएपछि करिब एक महिनाभित्र नयाँ पुलबाट नियमित सवारी आवागमन सुरु गर्ने तयारी रहेको अधिकारीले जानकारी दिए।

राम्दीमा रहेको पुरानो ट्रस पुल सिद्धार्थ राजमार्ग निर्माणसँगै २०२२ सालमा बनाउन थालिएको थियो । करिब छ वर्षपछि २०२८ सालमा निर्माण सम्पन्न भएको उक्त पुलको उद्घाटन तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले गरेका थिए ।

पाँच दशकभन्दा बढी समयसम्म यही पुलले गण्डकी र लुम्बिनी प्रदेशबीचको मुख्य यातायात धाने पनि जीर्ण बन्दै गएपछि नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको थियो ।

नयाँ पुल सञ्चालनमा आएपछि गण्डकी र लुम्बिनी प्रदेशबीचको यातायात थप सुरक्षित, सहज र प्रभावकारी हुने विश्वास गरिएको छ । साथै वर्षौंदेखि जीर्ण ट्रस पुलमा निर्भर रहनुपरेको समस्या पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर