तानसेन । बगनासकाली गाउँपालिकाले आन्तरिक राजस्व संकलनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा एक करोड चार लाख ६१ हजार ६९१ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेकोमा गत आर्थिक वर्ष २०८२।८३ मा वृद्धि गरेर एक करोड ३६ लाख ५५ हजार २६४ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३०.५२ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको गत आर्थिक वर्षमा राजस्व संकलन विवरण अनुसार नदीजन्य तथा प्राकृतिक स्रोत शीर्षकको दहत्तर बहत्तर शुल्कबाट सबैभन्दा बढी ५१ लाख ९४ हजार ११२ रुपैयाँ संकलन भएको छ ।
यसैगरी भूमिकर तथा मालपोतबाट दश लाख ९२ हजार ८४३ रुपैयाँ, सिफारिस दस्तुरबाट दश लाख ८१ हजार ५५० रुपैयाँ, अन्य दस्तुरबाट १२ लाख ११ हजार ३५० रुपैयाँ तथा बहाल करबाट सात लाख ९८ हजार ८५३ रुपैयाँ संकलन भएको लेखा अधिकृत कोशल राज पौडेलले जानकारी दिए ।
यस्तै प्रशासनीक सेवा शुल्कबाट छ लाख १२ हजार ८० रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ६ लाख ४० हजार ५ सय रुपैयाँ, सम्पति करबाट तीन लाख १७ हजार ४६४ रुपैयाँ र प्रशासनीक दण्ड जरिवानाबाट चार लाख १८ हजार २४४ रुपैयाँ राजस्व उठेको गाउँपालिकाले जनाएकाे छ ।






