पाल्पा। एक महिने निशुल्क लोकसेवा आयोग तयारी कक्षा बुधबार रामपुर पाल्पामा सम्पन्न भएको छ । लोक सेवा आयोगमा अभिरुची राख्ने र परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हाे ।
समापन कार्यक्रममा बोल्दै रामपुरका नगर प्रमुख रमणबहादुर थापाले निजामती सेवामार्फत जनताको सेवा गर्न ईच्छुक विद्यार्थीहरुलाई आधार स्तम्भ निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए।
उनले उत्साह र मेहनतका साथ अध्ययन गरेर लोक सेवा आयोगको परिक्षामा उत्तिर्ण गरि निजामती सेवामा लाग्न आग्रह गरे। आगामी दिनमा पनि विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता प्रमुख थापाले व्यक्त गरे।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले लोक सेवा आयोगको सामान्य आधारभुत ज्ञान बारे जानकारीका लागि कक्षा सञ्चालन गरिएको भन्दै निजामती सेवामा प्रवेशका लागि अझ मेहनतका साथ अध्ययन गर्न आग्रह गरे ।
रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले निजामती सेवामा काम गर्ने यस क्षेत्रको कर्मचारी रहेको बताउँदै यसका लागि नगरपालिकाले थप कार्यक्रम सञ्चालन गर्ने बताए।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पछिल्लो समय विद्यार्थीहरु बैदेशिक रोजगारीमा जानु भन्दा लगनशिलताका साथ अध्ययन गरेर निजामति सेवा मार्फत जनताको सेवामा लाग्न आग्रह गरे।
कार्यक्रममा शहिद बहुमुखी क्याम्पस स्ववियू उपसभापति दर्पण सोति , सहभागि विद्यार्थी प्रतिक्षा पोखरेलले बोल्दै नगरपालिकाले निःशुल्क रुपमा लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
तयारी कक्षामा नगर भित्रका करिब ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।





















