
काठमाडौँ, जेठ १२ । काठमाडौँ सुकेधारामा भएको विस्फोटमा परेकामध्ये थप एकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यसअघि सुकेधाराको विस्फोटमा परी दुई जनाको मृत्यु भएकोे थियो । यस्तै अनामनगरमा भएको बम विस्फोटमा पनि एक जनाको ज्यान गएको छ ।
दुवै स्थानमा भएको विस्फोटमा परी अहिलेसम्म चार जनाले ज्यान गुमाएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । घाइते पाँचमध्ये चार जनाको परिचय खुलेको छ ।
अनामनगरमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । एक जनाको परिचय खुलेको छैन ।
यसैबीच राजधानीको ग्वार्खो, नागढुंगा, सानेपालगायतका स्थानमा पनि बम फेला परेको छ ।