मोबाइल आयात ३५ प्रतिशतले घट्यो

काठमाडौं, जेठ १२ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मोबाइल सेटको आयात ३५ प्रतिशतले घटेको छ ।

गत आवको सही अवधिमा ५५ लाख १० हजार मोबाइल सेट भित्रिएको थियो । तर, यो वर्ष त्यो संख्या खुम्चिएर ३५ लाख ८५ हजारमा झरेको भन्सार विभागले जनाएको छ । मोबाइल आयात घट्दा पनि राजश्व भने बढेको छ ।

गत वर्ष यही समीक्षा अवधिमा २१ अर्ब १७ करोड मूल्य बराबरको मोबाइल नेपाल भित्रिएको थियो । यो वर्ष १६ अर्ब ४ करोडको मात्रै मोबाइल आयात भएको छ ।

गत वर्ष सुरुको १० महिनामा मोबाइलबाट २ अर्ब ७५ करोडको भन्सार राजश्व उठाएकोमा यो वर्ष बढेर २ अर्ब ९९ करोड रुपैयाँ उठेको छ । मोबाइल आयात ३५ प्रतिशतले घटेको अवस्थामा पनि भन्सार राजश्व ९० प्रतिशतले बढेको देखिन्छ ।

यसको मुख्य कारण मोबाइलमा दिइने मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको प्रावधान हटाउनु हो ।

गत वर्षसम्म मोबाइल आयात गर्दा लाग्ने भ्याटको ४० प्रतिशत राजश्व पुनः व्यापारीले नै फिर्ता पाउँथे । तर, बजेट भाषणमार्फत अर्थमन्त्री युवराज खतिवडाले सो सुविधा कटाएर थप ५ प्रतिशत अन्तशुल्क तिर्नुपर्ने प्रवन्ध गरे ।

यसका कारण मोबाइल भित्रयाउँदा लाग्ने राजश्व केही बढेको भन्सार विभागका एक अधिकारीले बताए । ‘विगतका वर्षहरुमा नेपालमा चीनसहित तेस्रो मुलुकबाट महंगो मूल्यको मोबइल भित्र्याएर भ्याट फिर्ताको दाबी गरिन्थ्यो,’ ती अधिकारी भन्छन्,’ त्यही मोबाइल फेरि सीमावर्ती भारतका बजारमा पठाउँदा हामीलाई नोक्सानी बढी थियो ।’

अहिले यो प्रवृत्ति नियन्त्रणमा आएको भन्सार अधिकारीहरुको दाबी छ । भ्याट फिर्ता सुविधा नपाउने भएपछि नेपालमा विक्रीका लागि मात्रै मोबाइल भित्रिन थालेको राजश्व अधिकारीहरु बताउँछन् ।

ब्यापारीहरु भने यो दाबी स्वीकार्दैनन् । मोबाइल महंगो भएका कारण उपभोक्ताले किन्ने क्रम घटेको दाबी उनीहरुको छ ।

यस्तै नेपालमा आवश्यक मोबाइल पनि तस्करी भएर भारत लगायतका देशबाट आउन थालेको तर्क गर्छन् मोबाइल आयातकर्ता समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वा अध्यक्ष पशुपति मुरारका ।

‘मोबाइल महंगिएपछि ‘ग्रे मार्केट’बाट नेपालमा तस्करी हुन थालेको छ, यसले गर्दा भन्सार छलेर मोबाइल भित्र्याउने क्रम बढेको छ,’ मुरारकाले भन्छन्, ‘मोबाइलको तस्करी रोक्न भ्याट फिर्ताको प्रावधान फेरि राख्नुपर्ने देखिन्छ ।’

आईएमईआई नम्बरबाट अवैध मोबाइल नियन्त्रण गर्ने प्रविधि ल्याउने बताएपछि कार्यान्वयन नभएको उनले बताए ।

सरकारले अवैध रुपमा भित्रिएका मोबाइललाई निस्त्रिmय गर्न सकिने गरी डिभाइस म्यानजमेन्ट सिस्टम जडान गर्न खोजेको दुई वर्ष बढी भएको छ । तर, अझै पनि काम भएको छैन ।

यसले गर्दा मोबाइलको अवैध आयात बढेको दाबी ब्यापारीहरुको छ ।

सरकार भने पछिल्लो समयमा त्यस्तो अवैध आयात रोकिएर बजारमा वैध मोबाइल बिक्री बढेको दाबी गर्छ ।

साभार : अनलाइन खबर

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer