कटौजेपानीमा रंगशाला

पाल्पा; रैनादेवी छहरा गाउँपालिका ४, मुझुङगको कटौजेपानीमा प्रदेशस्तरीय रंगशाला निर्माणको काम सुरु भएको छ । पहाडी भेगमा निर्माण हुने यस स्टेडियममा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्न सकिने छ ।

रैनादेवी छहरा गाउँपालिकाले गएको वर्ष विस्तृत परियोजना प्रतिवेदन  तयार गरेको थियो । यस वर्ष प्रदेश सरकार र रैनादेवी छहरा गाउँपालिकाको लगानीमा स्टेडियम बनाउन लागेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । ‘तराईको गर्मीमा खेलकुद गर्न गाह्रो हुँदा पहाडमा पनि गतिलो रंगशाला छ है भन्ने गरी काम गर्न सुरु गरेका छौं,’ उनले भने, ‘त्यसैले यस वर्षबाट काम पनि अघि बढेको छ ।’

यसअघि विभिन्न निकायबाट कटौजेपानीमा खेलकुद मैदानका लागि सम्याइएको थियो । सडकको छेउमै र उपयुक्त स्थानमा भएकाले भोलिका दिनमा जोसुकैलाई पनि प्रयोग गर्न सकिने वडाध्यक्ष हुमानसिंह कार्कीले बताए ।

उनका अनुसार अहिले केही भाग सम्याइएको छ । अहिले डीपीआर तयार भएकाले अब सोही अनुसार नै प्राविधिकको रेखदेखमा काम सुरु हुने र त्यसपछि मात्र रंगशालाको ढाँचामा लैजाने उनले बताए । ‘पहिला केही बजेट खर्च भइसकेको थियो,’ उनले भने, ‘यस वर्षबाट योजना अनुसार नै काम हुनेछ ।’ रैनादेवी छहरा गाउँसभा र कार्यपालिकाको बैठकले रंगशाला बनाउने योजना पारित गरेको थियो । सोही अनुसार अघिल्लो वर्ष डीपीआर तयार भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीका अनुसार यस वर्ष ६० लाख रुपैयाँ बजेट रहेको बताए । उनले आगामी वर्ष प्रदेश सरकार र गाउँपालिका मिलेर काम हुनेछ । ‘यस वर्ष समयमा नै प्रदेश सरकारसँग मिलेर काम गर्न सकेको भए धेरै काम गर्न सकिन्थ्यो,’ उनले भने, ‘आर्थिक वर्षको सुरुमा यस विषयमा धेरै जानकारी भएन । त्यसैले पछि बजेट माग्न जाँदा ढिला भइसकेछ ।’

रंगशालाको प्रारम्भिक लागत पाँच करोड रुपैयाँ रहेको छ । पहाडी भेगमा अझ पनि खेलकुद प्रतियोगिताका लागि उपयुक्त स्टेडियम निर्माण भएको छैन ।

त्यसैले यहाँ क्रिकेट, भलिबल, ब्याडमिन्टन प्रतियोगिता गर्नका लागि उपयुक्त खेल मैदान एवं कभर्ड हल निर्माण गर्न लागेको गाउँपालिका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए । ‘यहाँ निर्माण हुने रंगशालाले यस क्षेत्रको मात्र नभई प्रदेश ५ कै खेलाडीलाई फाइदा पुग्नेछ,’ उनले भने, ‘पहाडी भेगमा नभएकाले पनि हामीले चासो लिएर खेल पर्यटक भित्र्याउने योजना बनाएका हौं ।’

उनका अनुसार जुनसुकै समयमा पनि खेलकुद संचालन गर्न सकिन्छ । पछिल्लो समयमा क्रिकेटमा धेरैको रुचि भएकाले पनि त्यसलाई नै प्राथमिकतमा पारेको उनले बताए । स्टेडियममा हुने सबै संरचना यहाँ बन्ने छ । ‘खेलाडीको कपडा परिवर्तन गर्ने, शौचालय, सामान्य प्यारापिटसमेत बन्नेछ,’ पोखरेलले भने, ‘कभर्डहल र भलिबलका लागि पनि काम हुनेछ ।’

दुर्गम गाउँमा स्टेडियम बन्ने भएपछि खेलाडी मात्र होइन, खेलकुदमा रुचि राख्ने युवा, विद्यार्थी र अभिभावक सबै खुसी भएका छन् । ‘हामीलाई धेरै खुसी लागेको छ,’ मुझुङका खेलाडी सुशील कार्कीले भने, ‘हामी र हाम्रो क्षेत्रका सबै खेलाडीलाई यसले हौसला बढाएको छ ।’ कटौजेपानी तानसेनबाट ३० किलोमिटर टाढा छ ।

तपाईको प्रतिक्रिया