पाल्पा : पाल्पास्थित रानीमहल दरबारको जग कटानमा परेको छ। कालीगण्डकी तीरमा चट्टानमाथि बनाइएको १ सय २१ वर्ष पुरानो दरबारको जग परीक्षण क्रममा ७ फिटसम्म कटान भएको भेटिएको हो।
प्रेमको प्रतीक रानीमहल दरबार भत्किने अवस्थामा पुगेको भन्दै विभिन्न पक्षबाट चिन्ता भइरहेको अवस्थामा गोताखोर प्रयोग गरी जग कटान परीक्षण गरिएको हो।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय काठमाडौंबाट आएका गोताखोर प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, हवलदार बलराम अधिकारी र पारस खाँम्चाले रानीमहल जग कटान परीक्षण गरेका हुन्। रानीमहल निर्माण भएको १ सय २१ वर्ष अवधिमा ३ देखि ७ फिट रानीमहलको जग कटान गरेको गोताखोर समूहका टिम लिडर भण्डारीले बताए। १९५४ राणा खड्गशमशरेरले कालीगण्डकी नदीको चट्टानमाथि रानी तेजकुमारीको सम्झनामा रानीमहल दरबार निर्माण गरेका थिए।
प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अगुवाइमा तानसेन नगरपालिका, सशस्त्र प्रहरी बल नम्बर ३५ गुल्मको सहयोगमा रानीमहलको जगमा गोताखोर परिचालन गरी जग कटानबारे जानकारी लिइएको हो।नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीमहलको कुनै पनि तरिकाबाट खतरा नहोस्, समयमै रानीमहललाई जोखिम हुनबाट बचाउन सकियोस् भनी जग कटानबारे वास्तविक अवस्था पत्ता लागाउन गोताखोर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
रानीमहलको जगमा भएको कटान जोखिम हटाउन प्राविधिकसँग परामर्श गरी संरक्षणको उपाय चालिने प्रजिअ यादवले बताए। अहिलेसम्म कालीगण्डकीको चट्टानमाथि रहेको जगको वास्तविक अवस्था पत्ता लागेको थिएन। न कुनै पक्षबाट यसरी जगको अवस्थाबारे परीक्षण गरिएको थियो। यो परीक्षण अध्ययनबाट रानीमहलको जगलाई कुनै खतरा नरहेको प्रमाणित भएको जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले बताए।
कालीगण्डकी नदीको धार रानीमहलको जगतर्फ बगिरहेको र निरन्तर कटान भइरहेकाले प्रेमको प्रतीक भत्किने हो कि भन्ने चिन्ता बढेको थियो। रानीमहलको जग क्षेत्रतर्फ रहेको नदीको धार अर्काेतर्फ पठाउने वा प्राकृतिक रूपमै रानीमहलतर्फ बगिरहेको धारलाई निरन्तरता दिने विषयमा अन्योल हुँदै आएको छ। रानीमहलको जगको चट्टानको परीक्षण गरेका सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका गोताखोर प्रहरी निरीक्षक भण्डारीले रानीमहलको जग यही अवस्थामा कटान भए पनि दुई/तीन सय वर्ष खतरामा नरहेको बताए।